सहिदका पिताको स्वास्थ्य अवस्था बारे मुख्यमन्त्रीको चासो

 मकवानपुर –  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले २०६२÷६३ को जनआन्दोलनका सहिद वासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेसँग भेट गर्नुभएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्याका कारण लामो समयदेखि अस्वस्थ रहनुभएका ८७ वर्षीय घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले मुख्यमन्त्री बानियाँ उहाँकै निवास मकवानपुर गढी गाउँपालिका ५ पुग्नुभएको हो । मुख्यमन्त्रीलाई भेट्नासाथ सहिद पिता घिमिरेले छोरा वासुदेव घिमिरेको नाममा निर्माणाधीन प्रतिष्ठान छिटो पूरा गरिदिन आग्रह गर्नुभयो । आफूले छोराको अर्ध कदको प्रतिमासहितको प्रतिष्ठान सञ्चालनमा आएको हेर्ने ठुलो इच्छा रहेको बताउँदै घिमिरेले प्रतिष्ठानका लागि डेढ कठ्ठा जग्गा समेत उपलब्ध गराएको बताउनुभयो । हरेक निर्वाचनमा उम्मेदवारहरू आशीर्वाद लिन पुग्ने तर पछि वास्ता नगर्ने गरिएको सहिद पिताले गुनासो पनि गर्नुभयो ।

२०७६ सालबाट निर्माण सुरु भए पनि जग्गा विवादका कारण काम समयमा पूरा हुन नसकेको वडा अध्यक्ष दीपेश दाहालले बताउनुभयो । माघ १६ गते अगाडी नै काम सक्ने गरी अघि बढाउन मुख्यमन्त्री बानियाँले निर्देशन दिनुभएको छ । अपुग बजेट प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।  वडा कार्यालय र गाउँपालिकाबाट करिब २० लाख बराबरको काम सम्पन्न भइसकेको छ ।

सहिदहरूको योगदानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउँदै मुख्यमन्त्री बानियाँले सहिद सम्मानमा प्रदेश सरकार सदैव तयार रहेको बताउनुभयो । सहिद परिवारका लागि तत्काल रोजगारको अवसर उपलब्ध गराउनुका साथै सहिद परिवारको मुहारमा मुस्कान ल्याउन आवश्यक सबै सहयोग गर्ने आश्वासन पनि उहाँले दिनुभयो ।

सहिद वासुदेव घिमिरेको नाममा सुपारी टार ब्यारेकदेखि बुढी चौरसम्मको करिब ३५ किलोमिटर लामो सडक निर्माण गरिएको छ । जसको १४ किलोमिटरमा स्ल्याब ढलान पूरा भइसकेको छ । यस्तै, मकवानपुर गढी–५, आमभञ्ज्याङस्थित सहिद घिमिरेको घरनजिकको टोल पनि सहिद वासुदेव घिमिरे टोल विकास संस्था नामकरण गरिएको छ । मकवानपुर गढी–५ मा जन्मिनुभएका सहिद वासुदेवको काठमाडौँको कलङ्कीमा प्रहरीको गोली लागेर ज्यान गएको थियो । वासुदेवका श्रीमती र एक छोरा हुनुहुन्छ । छोरा अध्ययनका लागि विदेशमा रहनुभएको छ भने श्रीमती काठमाडौँमा बस्दै आउनुभएको छ । ४ वर्ष अघि पत्नी गुमाउनुभएका सहिद पिता माइलो छोरासँग बस्दै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.