डडेल्धुरा कारागारबाट अझै पाँच जना कैदीबन्दी फरार

डडेल्धुरा –  डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरी भागेका ८५ जना कैदीबन्दीमध्ये हालसम्म ८० जना पक्राउ परेका छन् । पाँच जना कैदीबन्दी अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । गत भदौ २३–२४ गते देशैभर चर्किएको जेनजी आन्दोलनपछि २५ गते बिहान आफ्नो सरसामानमा आगो लगाई कारागारको गेट फोडेर भागेका कैदीबन्दीलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरको थियो । १२७ जना कैदीबन्दी रहेको कारागारबाट ८५ जना भागेकोे प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंहले बताउनु भयो । उहाँका अनुसार हाल कारागारमा १२२ जना कैदीबन्दी पुगेका छन् । फरार रहेका पाँच जनाको खोजतलास गरिरहेको उहाँले जानकारी दिनुभयो । फरार कैदीबन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढेको प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंह ले जानकारि दिनु भयो ।

उहाँका अनुसार फरार रहेका पाँच जना कैदीबन्दीमध्ये जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका चार जना छन् । फरार पाँच जनामध्ये तीन जना जबरजस्ती करणी मुद्दा र एक जना हाडनाता जबरजस्ती करणी मुद्दाका थिए । एक जना भने कर्तव्य ज्यान मुद्दाका थिए । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका चार जनामध्ये दुई जनाको ठेगाना बैतडी जिल्ला छ भने एक÷एक जनाको ठेगाना डडेल्धुरा र डोटी जिल्ला छ । कर्तव्य ज्यान मुद्दा लागेका एक जना अर्का फरार बैदीबन्दीको ठेगाना भने डडेल्धुरा नै हो ।

फरार रहेकाहरुमध्ये दुई जना बैतडी, दुई जना डडेल्धुरा र एक जनाको ठेगाना डोटी जिल्ला छ । फरार रहेकामध्ये हाडनाता जबरजस्ती करणी मुद्दाका डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं. ४ ठेगाना छ । यस्तै जबरजस्ती करणी मुद्दाका फरार कैदीबन्दीहरु मध्ये एक जनाको ठेगाना बैतडीको पाटन नगरपालिका वडा नं. ८, एक जना अर्काको ठेगाना बैतडीकै सिगास गाउँपालिका वडा नं. ७ छ । एक जनाको ठेगाना भने डोटीको जोरायल गाउँपालिका वडा नं. १ छ । कर्तव्य ज्यान मुद्दाका फरार कैदीबन्दीको ठेगाना भने डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ५ रहेको जेलर भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.