विद्यार्थी भ्रमण आएको बस पाल्पामा दुर्घटना, ११ जना शिक्षक र विद्यार्थी घाइते

पाल्पा- दाङ जिल्लाबाट विद्यार्थी भ्रमणमा आएको बस पाल्पामा दुर्घटना हुँदा शिक्षक र विद्यार्थी गरी ११ जना घाइते भएका छन् ।
तानसेन रानी महल सडक खडको तानसेन नगरपालिका– १३ बैकुन्ठे भिर नजिकै दाङबाट आएको ना ५ ख १०८९ नम्बरको बस दुर्घटना भएको हो । साधारण नमुना मावि राजपुर दाङका विद्यार्थी पाल्पाको रानी महल भ्रमणका लागि आएका थिए । बस अचानक आफै अनियन्त्रित भई सडकको भित्तामा ठोकिन जाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभयो । घाइतेहरूको उद्धार गरी उपचारको लागि तानसेनस्थित युनायटेड मिसन अस्पताल पठाइएको छ । उनीहरूको अवस्था सामान्य रहेको पाल्पा प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा दाङको राजपुर गाउँपालिका –४ का ४० वर्षीय शत्रु घन गुप्ता, घोराही उपमहानगरपालिका ११ का २२ वर्षीय दामोदर रेउले, चालक घोराही उपमहानगरपालिका–१४ का ३५ वर्षीय सन्तोष ढकाल, राजपुर गाउँपालिका –५ की १२ बर्सिया सन्ध्या भण्डारी, सोही गाउँपालिका– ६ की १८ बर्सिया दिल कुमारी रावत, सोही ठाउँकी १० बर्सिया सन्तोषी चौधरी, १९ वर्षीय अजय नेपाली रहेका छन् ।
यस्तै दुर्घटना राजपुर गाउँपालिका –५ की २३ बर्सिया सिर्जना यादव, १३ वर्षीय आयुष भण्डारी, १५ वर्षीय अभिषेक यादव र घोराही उपमहानगरपालिका –९ का ३५ वर्षीय वसन्त योगी पनि घाइते भएका प्रहरी नायव उपरीक्षक चौधरीले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्