समग्र विकासका लागि एआई अपरिहार्यः सञ्चारमन्त्री खरेल

काठमाडौँ-  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको समग्र विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरिहार्य रहेको बताउनुभएको छ । आज काठमाडौँमा आयोजित “एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ नेपाल एआई रेडी फ्युचार’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले एआईको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।

सञ्चारमन्त्री खरेलले व्यापक डिजिटल साक्षरता मार्फत डिजिटल विभाजनलाई कम गर्न एआई बाट अधिकतम लाभ लिनसक्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री खरेलले सरकारले ‘एआई नीति २०८२’ को निर्देशन अनुसार राष्ट्रिय एआई काउन्सिल र राष्ट्रिय एआई सेन्टर स्थापना गरिसकेको जानकारी दिनुभयो । उहाँले एआईको प्रयोग सबैका लागि समावेशी, नैतिक, सुरक्षित र लाभदायक हुनुपर्छ भन्ने सरकारको स्पष्ट दृष्टिकोण रहेको बताउनुभयो । “हाम्रो देशको एआई सम्बन्धी दृष्टि स्पष्ट र सिद्धान्तमा आधारित छ,” सञ्चारमन्त्री खरेलले भन्नुभयो, “हामी एआई प्रविधिको प्रयोगलाई समावेशी, नैतिक, सुरक्षित र सबैका लागि फाइदाजनक बनाउने लक्ष्यमा प्रतिबद्ध छौँ ।”

मन्त्री खरेलले सरकारको रणनीति डिजिटल साक्षरता विस्तार गरी डिजिटल विभाजन अन्त्य गर्ने, महिला, युवा र सीमान्तकृत समुदायलाई सशक्तीकरण गर्नेमा केन्द्रित रहेको बताएनुभयो । उहाँले नागरिकको डेटा गोपनीयता र अधिकारको रक्षा गर्दै जिम्मेवार आविष्कारलाई प्रोत्साहन गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले अगाडि थप्नुभयो,“हामी कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनजस्ता महत्वपूर्ण क्षेत्रमा एआईको प्रयोगलाई प्राथमिकता दिइरहेका छौँ । साथै, एआईबाट सिर्जित आर्थिक अवसर सबैले उपयोग गर्न सकून् भनेर स्टार्टअपलाई प्रोत्साहन गर्ने अनुकूल वातावरण तयार गर्दैछौँ ।” उहाँले यो महत्त्वाकांक्षी लक्ष्य सरकार एक्लैले पूरा गर्न नसक्ने भन्दै निजी क्षेत्र, प्राज्ञिक वर्ग र अन्तर्राष्ट्रिय साझेदारको सहकार्यमा जोड दिनुभयो । नेपाल र भारतबीचको गहिरो मित्रताले यस सहकार्यका लागि बलियो आधार प्रदान गरेको उल्लेख गर्दै मन्त्री खरेलले अनुसन्धान, सीप विकास र ज्ञान आदानप्रदानमा सहकार्यलाई थप गहिरो बनाउनुपर्ने बताउनुभयो ।

काठमाडौँस्थित भारतीय राजदूतावासले एआई एसोसिएसन अफ नेपालसँगको साझेदारीमा “एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ्ग नेपाल्स एआई रेडी फ्युचर” नामक कार्यक्रम आयोजना गर्‍यो । यस कार्यक्रमलाई आगामी फागुन ७-८ मा नयाँ दिल्लीमा आयोजना हुने एआई इम्प्याक्ट समिटको आधिकारिक प्रि-समिटको रूपमा मान्यता दिइएको छ ।

 

उक्त कार्यक्रममा छलफलका प्रमुख क्षेत्रहरू मध्ये आर्टिफिसियल इन्टेलिजेन्समा हालै भएका विकास र एआई इम्प्याक्ट समिट पनि रहेको थियो । कार्यक्रममा स्टार्टअपहरू, सरकारी निकायहरू, चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल, शैक्षिक संस्थाहरू, थिंक ट्याङ्कहरू र सञ्चार माध्यमका ४०० भन्दा बढी सहभागीहरू उपस्थित थिए ।

 

पूर्ण सत्रमा बोल्दै राजदूत नवीन श्रीवास्तवले भारतको AI for ALL को दृष्टिकोणमा अन्तर्निहित सिद्धान्तहरूको व्याख्या गर्नुभयो । राजदूत श्रीवास्तवले आगामी हुन लागेको एआई इम्प्याक्ट समिटको उद्देश्य एआई सम्बन्धी विश्वव्यापी व्याख्यानलाई परिवर्तन गरी एआईले हाम्रो जीवनका सबै पक्षहरूमा पार्ने ‘प्रभाव’ र यसको भविष्यमा हुने अभिव्यक्तिहरूमा केन्द्रित हुने कुरामा जोड दिनुभयो । वहाँले नेपाली युवाहरूलाई AI for ALL, AI for HER र YUVAi  जस्ता विभिन्न एआई चुनौतीहरूमा ठूलो संख्यामा सहभागी हुन पनि प्रोत्साहन दिनुभयो ।

 

डिजिटल इन्डिया भाषिणी डिभिजनका प्रमुख कार्यकारी अधिकारी श्री अमिताभ नागले AI for ALL को भावना अनुरूप भारतमा सार्वजनिक सेवाहरूको रूपान्तरणमा भाषिणीको भूमिकाको विषयमा मुख्य प्रस्तुति दिनुभयो । उहाँले विकासका लागि भाषिणीको प्रयोगका धेरै उदाहरणहरू प्रदर्शन गर्नुभयो । अब्जर्भर रिसर्च फाउन्डेसन, डिजिटल सोसाइटीज इनिसिएटिभका  निर्देशक  अनिर्बान शर्माले सहभागीहरूलाई एआई इम्प्याक्ट समिटको बारेमा परिचय गराउनुभयो ।

एआई एसोसिएसन अफ नेपालका उपाध्यक्ष डा. सुरेश पोखरेलद्वारा सञ्चालित “लेभरेजिङ एआई फर नेपाल्स ग्रोथ” विषयक एक विज्ञ मण्डलको छलफल भएको थियो । यस विज्ञ मण्डलमा नेपाल सरकारका सहसचिव  आदेश खड्काले नेपालको लागि एआई नीति विकास गर्ने बारेमा आफ्नो दृष्टिकोण साझा गर्नुभयो ।

 

रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ई. विकास गुरुङले नेपालका युवाहरूमाझ रोबोटिक्स र एआई अपनाउने प्रवृत्ति बढाउनका लागि गरिएका पहलहरूको बारेमा विस्तृत रूपमा बताउनुभयो ।

 

वृद्धि सञ्जालका संस्थापक शिक्षित भट्टले नेपालको डिजिटल पब्लिक इन्फास्ट्रक्चर स्ट्याकको लागि एआई किन एक प्रमुख भाग हुन सक्छ भनेर व्याख्या गर्नुभयो ।  अमिताभ नाग र  अनिर्बान शर्माले पनि भारतको एआई क्षेत्रका अनुभवहरू साझा गर्दै छलफलमा सहभागिता जनाउनुभयो ।

कार्यक्रमको समापन एआई एसोसिएसन अफ नेपालका  राम शर्मा भट्टराई र श्री दर्शन पराजुलीद्वारा एआई उपकरण र वास्तुकला सम्बन्धी कार्यशालासँगै भयो । यस कार्यशालामा भारतमा भाषिणी एआईको प्रयोगका औद्योगिक केस स्टडीहरू पनि प्रस्तुत गरिएको थियो । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव  राधिका अर्याल पनि विशेष अतिथिको रूपमा कार्यक्रममा उपस्थित हुनुभएको थियो ।

 

फेब्रुअरी २०२६ मा आयोजना हुने एआई इम्प्याक्ट समिटमा अन्य कुराका साथसाथै तीन वटा विश्वव्यापी चुनौतीहरू र एक अनुसन्धान गोष्ठी पनि समावेश हुनेछ जसको लागि https://impact.indiaai.gov.in मा गएर अनलाइन आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.