‘जेन-जी’ पुस्ताले उठाएका माग सम्बोधन गरेर अघि बढ्नुको विकल्प छैन: डा भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको राजनीतिमै पुनःसंरचना नभएसम्म विश्वसँग जोडिएर जान नसक्ने बताउनुभएको छ ।
आज काठमाडौँमा आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणा सभामा उहाँले विश्वसँग जोडिएर जान ‘जेन-जी’ पुस्ताले उठाएका माग सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
देश अझै पनि सहज बाटोमा नहिँडेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सहज अवस्था बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । । उहाँले व्यक्तिको निजत्व र सामाजिक पक्ष दुवैलाई मिलाएर नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी अघि बढ्नुपर्ने बताउनुभयो । उक्त पार्टीका अगुवा नेता रहेका डा भट्टराईले नयाँ दलमा आफू अभिभावक भएर बस्ने र कार्यकारी भूमिकामा रहनेलाई सहयोग तथा सुझाव दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री जनार्दन शर्माले दलको प्रतिबद्धता पत्र सुनाउनुभएको थियो । प्रतिबद्धता पत्रमा देशको कार्यकारी प्रमुख मातहत राष्ट्रिय विकास प्राधिकरण गठन गरिने, भ्रष्टाचारविरुद्ध महाअभियान चलाइने, बोली र व्यवहारमा एकरुपता हुनेलगायत विषय समेटिएको उहाँले जानकारी गराउनुभयो ।
पार्टी घोषणा सभाको अध्यक्षता गर्नुभएका नेता सन्तोष परियारले दलले नयाँ गतिका साथ काम गर्न चाहनेलाई समेटेर अघि बढ्ने बताउनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्