द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँः गृहमन्त्री अर्याल

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले पुनः द्वन्द्व दोहोरिने किसिमका विषय काबुमै राख्न सफल भएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उहाँले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताउनुभयो ।
देशमा कानुनी शासन कायम गर्नुपर्नेमा जोड दिनुहुँदै गृहमन्त्री अर्यालले त्यसका लागि राजनीतिक दल र जेनजी समूहबीच संवाद चलिरहेको जानकारी दिनुभयो ।
मन्त्री अर्यालले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले लुटिएका हतियार र फरार कैदीबन्दीको व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको जानकारी दिनुभयो ।
साथै प्रहरीको मनोबल बढाउने र क्षतिग्रस्त कार्यालयको पुनःनिर्माणमा नागरिक सहयोग प्राप्त भएको उहाँको भनाइ छ । उहाँले जनताले सुरक्षित वातावरणमा मतदान गर्न पाउने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री अर्यालले विभिन्न समूहले विविध माग राखी प्रदर्शन, धर्ना, जुलुस र बिरोधलगायतका कार्यक्रम गरिरहेको गतिविधिको सुक्ष्म निगरानी र समन्वयात्मक रूपमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको समितिलाई जानकारी दिनुभयो ।।





प्रतिक्रिया राख्नुहोस्