गोरखापत्र सस्थानले स्थापना गर्‍यो ’गोरखापत्र एकेडेमी’

काठमाडौँ- गोरखापत्र संस्थानले ‘गोरखापत्र एकेडेमी’ सञ्चालन गर्ने भएको छ । नेपाली पत्रकारिताको ऐतिहासिक बिरासत बोकेको संस्थानले पत्रकारिता क्षेत्रको गुणस्तर तथा व्यावसायिकता अभिवृद्धि गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उद्देश्यसहित गोरखापत्र एकेडेमी स्थापनाको निर्णय गरेको हो ।

पत्रकारिता क्षेत्रको लागि आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक विषयमा अध्ययन अनुसन्धान, तालिम, पुस्तक, जर्नल प्रकाशन लगायतका कार्य सञ्चालनको लागि एकेडेमी सञ्चालन गर्न लागिएको संस्थानले जनाएको छ ।

संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीको अध्यक्षतामा बसेको संस्थान संचालक समितिको मङ्सिर १२ गतेको बैठकले गोरखापत्र एकेडेमी स्थापना गर्ने निर्णय गरेको संस्थानका योजना बिभागका निमित्त निर्देशक ताराबहादुर बस्यालले जानकारी दिनुभयो ।

गोरखापत्र संस्थान ऐन, २०१९ को दफा १७ (६) ले संस्थानको काम कर्तव्य र अधिकार तोकेको छ ।

महाप्रवन्धक ऐरीको अवधारना अनुसार स्थापित एकेडेमी उक्त दफाले तोेकेको सिमाभित्र रहेर सञ्चालन गरिने बस्यालले जानकारी दिनुभयो ।

बैठकले गोरखापत्र एकेडेमी सञ्चालन सम्बन्धी कार्यविधि, २०८२ समेत स्वीकृत गरेको छ ।

कार्यविधि अनुसार एकेडेमीले संस्थानका प्रकाशनको गुणस्तर सुधार तथा जनशक्तिको व्यवसायीक क्षमता विकासका कार्य गर्नेछ ।

त्यस्तै, पत्रकारिताको व्यावसायिक विकासका लागि मिडिया तथा डिजिटल साक्षरता अभिवृद्धि गर्ने, गोरखापत्र संस्थानको आम्दानी अभिवृद्धि गर्न दिगो स्रोत पहिचान गर्ने, सरकारको नीति तथा कार्यक्रम र संवैधानिक निकायका काम कर्तव्य पूरा गर्ने सिलसिलामा उक्त निकायको सहमति र आर्थिक सहभागितामा तालिम सञ्चालन गर्ने लगायतका कार्य गर्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ ।

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले एकेडेमिमार्फत पत्रकारिताको बिस्तारित आयामहरुमा समग्र सञ्चारकर्मीको क्षमता विकास, पाठ्यक्रममा आधारित तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । साथै, डिजिटल तथा आम सञ्चार साक्षरता, अध्ययन अनुसन्धान र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न एकेडेमी स्थापना गरिएको महाप्रबन्धक ऐरीले जानकारी दिनुभयो ।

एकेडेमी सञ्चालन गर्नको लागि संस्थानका अध्यक्ष तथा महाप्रबन्धक संरक्षक रहनेगरि एक कार्यदल गठन गरिनेछ । एकेडेमीलाई आवश्यकता अनुसार विषयगत विज्ञ, प्रशिक्षक र परामर्शदाताको रोस्तर तयार गरिने छ ।

त्यस्तै एकेडेमीले आफ्नो जिम्मेवारी पुरा गर्ने क्रममा सम्बन्धित सरकारी निकाय, विश्वविद्यालय, पत्रकार महासंघ, विशेषज्ञ एवम् निजी संस्थाहरुसँग कार्य समन्वय गर्ने, डिजिटल अर्काइभ, इ लाइब्रेरी, अनलाइन तालिम, डिजिटल प्रकाशन प्रणालीको सुधार तथा बिस्तार गर्ने लगायतका जिम्मेवारी पुरा गर्ने संस्थानले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.