सडक विस्तारको विरोधमा हेटौंडामा व्यवसाय बन्द

मकवानपुर – मंसिर २० गतेदेखि हेटौंडामा हुन लागेको २५ गज सडक विस्तारको विरोधमा स्थानीय घरधनीहरुले मंगलबार प्रभावित क्षेत्रका व्यवसिाय बन्द गराएका छन् ।
सडक डिभिजन कार्यालय हेटौंडाले राजमार्गको केन्द्रबाट दायाँ–बायाँ २५÷२५ गज सडक विस्तारको तयारी तीव्र पारेपछि आक्रोशित घरधनीहरुले विरोध स्वरूप व्यवसाय बन्द गराएका हुन् ।
मंगलबार बिहानैदेखि घरधनीहरुले प्रभावित क्षेत्रका व्यवसायीहरुलाई व्यापार व्यवसाय बन्द गर्न आग्रह गर्दै हिँडेका थिए । सडक सीमाभित्र पर्ने घरहरु भत्काउने सरकारी सूचनाको विरोध गर्दै स्थानीयले हेटौंडाको मुख्य बजार क्षेत्रमा प्रदर्शन समेत गरेका छन् ।
बुद्धचोकमा कोणसभामा परिणत भएको उक्त प्रदर्शनमा बोल्दै पीडित घरधनीहरुले राज्यले जनतालाई सुकुम्बासी बनाउन नपाउने धारणा राखेका थिए । उनीहरुले मकवानपुर उद्योग वाणिज्य संघ लगायतका संघसंस्थाहरु समेत मौन बसेको आरोप लगाएका छन् ।
घरधनीहरुले सडकको चौडाइ १६ मिटर कायम गरिनुपर्ने वा बाइपास सडक प्रयोग गरिनुपर्ने माग राख्दै आएका छन । सडक विस्तार गरिएमा भने उचित मुआब्जा पाउनुपर्ने उनीहरुको माग छ ।
बिहान केही समय खुलेका पसलहरुलाई पनि घरधनीहरुको समूहले सटर झार्न लगाएपछि राप्तीरोड, बैकरोड, पिपलबोट क्षेत्रका व्यवसाय पूर्ण रुपमा ठप्प बनेको छ । घरधनीहरुले अनिश्चितकालका लागि व्यवसाय बन्द गर्न समेत भनेका छन् । यता प्रभावित क्षेत्रका व्यवसायीहरु भने राज्य र घरधनी दुबैबाट दोहोरो मारमा परेको गुनासो गरेका छन् । उनीहरुले सेलमा सामग्री बिक्री गरेर भएपनि तोकिएको समयसम्म सटर खाली गर्ने तयारीमा रहेपनि घरधनीहरुले व्यवसाय बन्द गरेर विरोधमा उत्रिन आव्हान गर्दा आफूहरु अप्ठ्यारोमा परेको बताएका छन् ।
प्रदर्शनका क्रममा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्