म्याक्रोन-सी भेटमा शान्ति र व्यापार सन्तुलनमुखी आग्रह

बेइजिङ –  फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको बिहीबारको भेटवार्तामा युक्रेन युद्ध अन्त्यका लागि सक्रिय भूमिका निभाउन र फ्रान्स-चीन व्यापार असन्तुलन समाधान गर्न सहयोग पुर्‍याउन आग्रह गर्नु भएको छ ।

ग्रेट हल अफ द पिपल्समा आयोजित भव्य समारोहका बिच सम्पन्न उच्चस्तरीय वार्ता उहाँको चीन भ्रमणको प्रमुख केन्द्रविन्दु बन्यो । अफिसमा रहँदै चीनको चौथो भ्रमण गर्नु भएका म्याक्रोनका लागि यस पटकको तीन दिने यात्रा दोस्रो विश्वयुद्धपछि युरोपमा देखिएको सबैभन्दा घातक द्वन्द्वका रूपमा रहेको युक्रेन युद्धमा युद्धविरामको व्यावहारिक मार्ग खोज्ने अवसरसमेत बनेको छ ।

साथै, फ्रान्समा थप चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्य पनि समानरूपमा रहेको बताइएको छ । फ्रान्सको चीनसँगको व्यापार घाटा सन् २०२४ मा बढेर ४६ अर्ब युरो (५४ अर्ब डलर) पुगेको छ, जसले आर्थिक मुद्दालाई यस पटकको भेटवार्तामा झनै महत्त्वपूर्ण बनाएको छ ।

राष्ट्रपति सी र प्रथम महिला पेङ लियुआनले म्याक्रोन दम्पतीलाई रातो गलैँचासहित सम्मान गार्ड, झण्डा फहराइरहेका बालबालिका र दुवै देशका राष्ट्रगानले सजिएको भव्य स्वागत प्रदान गर्नु भएको थियो । हलमा प्रवेश गर्दा दुवै नेता मुस्कुराउँदै अगाडि बढ्नुभयो । म्याक्रोनले भीडतर्फ हात हल्लाउँदै अभिवादनसमेत गर्नुभयो ।

यद्यपि वातावरण आत्मीय भए पनि वार्ताको मूल सन्देश स्पष्ट थियो-दुवै पक्षले ‘मतभेद पार’ गर्दै स्थिर र दीर्घकालीन साझेदारीतर्फ उन्मुख हुनुपर्ने । म्याक्रोनले सीलाई फ्रान्स र चीनले ‘साथसाथै काम गर्दा मात्रै निर्णायक परिणाम’ सम्भव हुने बताउँदै युक्रेन युद्धले युरोपेली सुरक्षामाथि मात्र नभई अन्तर्राष्ट्रिय विधि-व्यवस्थामाथि पनि गम्भीर चुनौती उत्पन्न गरेको उल्लेख गर्नुभयो ।

उहाँको भनाइलाई प्रतिध्वनित गर्दै राष्ट्रपति सीले चीन वार्ता तथा कूटनीतिक माध्यममार्फत ‘न्यायपूर्ण, स्थायी र सबै पक्षले स्वीकार्य’ शान्ति सम्झौताका लागि प्रतिबद्ध रहेको दोहोर्‍याउनु भयो । अर्को वर्ष जी-७ शिखर सम्मेलनको आयोजना गर्ने तयारीमा रहनुभएका म्याक्रोनले बेइजिङलाई ‘अधिक सन्तुलित र निष्पक्ष’ नियम-आधारित आर्थिक प्रणाली बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।

म्याक्रोनको चीन भ्रमण युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हालैको पेरिस भ्रमणपछि भएको हो । जेलेन्स्कीले वासिङ्टनले युद्ध अन्त्यका लागि गरिरहेको दबाबबिच युरोपलाई किएभको साथमा रहिरहन आग्रह गर्नु भएको थियो । “युद्धलाई उचित अन्त्यमा पुर्‍याउनु पर्ने हाम्रो साझा धारणा हो”, जेलेन्स्कीले म्याक्रोनसँगको भेटपछि सामाजिक सञ्जालमा लेख्नु भएको थियो ।

यसबिच, पश्चिमी राष्ट्रले बेइजिङमाथि रुसको युद्ध प्रयासलाई अप्रत्यक्षरूपमा आर्थिक तथा प्रविधिक सहयोग पुर्‍याएको आरोप लगाउँदै आएका छन् । चीनले भने शान्ति वार्ताका लागि निरन्तर आह्वान गर्दै आए पनि सन् २०२२ को आक्रमणबारे रूसविरुद्ध कुनै निन्दा वक्तव्य नदिएको तथ्यलाई आलोचकले पुनः स्मरण गराइरहेका छन् । म्याक्रोनले सीसँगको भेटमा चीनले ‘कुनै पनि तरिकाले’ रुसलाई युद्ध दीर्घकालीन बनाउने सहयोगबाट टाढा रहनुपर्ने सन्देश दिने बताइएको छ ।

व्यापारका विषयमा पनि छलफल तीव्र बनेको छ । युरोपेली सङ्घ (इयु) हाल चीनसँग तीन खर्ब ५७ अर्ब डलर बराबरको भारी व्यापार घाटामा छ । म्याक्रोनका सल्लाहकारले ‘चीनले बढी उपभोग गर्न र निर्यात घटाउन’ तथा ‘युरोपेलीले कम बचत गरेर बढी उत्पादन गर्न’ आवश्यक रहेको टिप्पणी गरेका छन् ।

प्रविधिगत क्षेत्रमा ‘युरोपेली प्राथमिकता’ आवश्यक रहेको भन्दै म्याक्रोन इयुलाई चिनियाँ प्रविधिमा निर्भरता घटाउन बारम्बार आह्वान गर्दै आउनु भएको छ । उहाँले गत महिना आयोजित युरोपेली टेक शिखर सम्मेलनमा ब्लक ‘अमेरिकी र चिनियाँ कम्पनीका जागिरदार बन्न नचाहने’ बताउनु भएको थियो ।

म्याक्रोनले चेङ्दु भ्रमणअघि प्रधानमन्त्री ली किआङसँग भेट्ने कार्यक्रम रहेको छ । चेङ्दुमा फ्रान्सले ऋणमा लिएका दुई विशाल पान्डा हालै फिर्ता गरिएका थिए । चिनियाँ पक्षले चाँडै नयाँ पाण्डा पठाउने प्रतिबद्धता जनाइसकेको छ । राष्ट्रपति सीले फ्रान्स र चीनबिच विशाल पान्डा संरक्षण सम्बन्धी नयाँ समझदारी भएको बताउँदै भन्नुभयो, “फ्रान्सेली जनताले विशाल पान्डालाई अत्यन्त प्रेम गर्छन् र अब दुवै पक्षले संरक्षण सहकार्यको नयाँ चरण सुरु गर्ने छन् ।”

म्याक्रोनको अघिल्लो चीन भ्रमणमा दक्षिणी सहर गुआङझाउका विद्यार्थीले उहाँलाई रक-स्टार झैँ स्वागत गरेका थिए, जसमा सेल्फी, हाई-फाइभ र उत्साहपूर्ण नाराको घुइँचो देखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.