रेसुङ्गामा ‘मिसन रोजगारी’ कार्यक्रम सुरु, आवेदन खुला

गुल्मी – गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा ‘मिसन रोजगारी’ अभियानरूपमा सुरु भएको छ । रेसुङ्गा नगरपालिका र दायित्वको सहकार्यमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत ‘मिसन रोजगारी’ अभियान औपचारिक रूपमा सुरु भएको हो ।
कार्यक्रम अनुसार नगरपालिकामा १ सय ८० दिनसम्म विभिन्न चरणमा कार्यक्रमहरु सञ्चालन हुनेछन् । सार्वजनिक रूपमा कार्यक्रम आरम्भ गर्दै नगरपालिकाले उद्यमशीलता, आर्थिक वृद्धि र स्थानीय रोजगारी सिर्जनामा केन्द्रित गतिविधिहरूलाई तिव्रता दिने घोषणा गरेको हो ।
कार्यक्रमले नगरभित्र विभिन्न क्षेत्रमा कार्यरत लघु तथा साना उद्यमीहरूलाई सशक्त बनाउँदै उनीहरूको व्यवसायिक क्षमतामा वृद्धि गर्ने लक्ष्य लिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । कार्यक्रम आरम्भसँगै योग्य उद्यमी तथा इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गरिएको छ ।
दायित्वको प्राविधिक सहकार्यमा सञ्चालन हुने यस अभियानले ग्रामीण क्षेत्रमा उद्यम विकासलाई दुतिकरण गर्दै व्यावसायिक सीप, नवप्रवर्तन, बजार पहुँच तथा लगानी क्षमतामा सुधार ल्याउनेछ । नगरपालिकाले उद्यम प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै ‘मिसन रोजगारी’लाई प्रमुख रोजगार–केन्द्रित परियोजनाका रूपमा अघि सारेको छ ।
कार्यक्रमले उद्यमशीलता अभिवृद्धि, सीप सुदृढीकरण, लगानी परिचालन र बजार पहुँच विस्तारमार्फत स्थानीयस्तरमै रोजगार सिर्जना गर्ने लक्ष्य लिएको छ । यस कार्यक्रम अन्तर्गत रेसुङ्गा नगरपालिकामा उच्च सम्भावना भएका उद्यमीहरूबाट आवेदन आह्वान गरिएको छ ।
प्राप्त आवेदनमध्ये सोच र सीप, लगानी अवस्था, नवप्रवर्तन, व्यवसायिक योजना, उद्यमको वर्तमान स्थिति, बजार सम्भावना, नेतृत्व क्षमता तथा सामुदायिक प्रभाव जस्ता सूचकांकका आधारमा ४० जना उद्यमीहरूलाई उत्कृष्टका रूपमा छनोट गरिने छ ।
छनोटमा परेका उद्यमीहरूले उद्यम सुदृढीकरणका लागि वित्त तथा बजार सम्बन्धी तालिम, सीप विकास, आत्मविश्वास अभिवृद्धि तथा व्यवसाय योजना समर्थनजस्ता महत्वपूर्ण अवसर प्राप्त गर्नेछन् ।
४० जनाको सक्षमीकरणपछि उत्कृष्ट २० उद्यमीहरूलाई अर्को चरणमा स्तरीकरण गरिनेछ । ती उद्यमीहरूले उद्यम नवप्रवर्तन शिविर मार्फत व्यवसायिक योजना थप व्यावहारिक एवं प्रतिस्पर्धी बनाउने अवसर पाउनेछन् ।
साथै बजार विस्तार, साझेदारी निर्माण तथा उद्यम विकासमा आवश्यक सहयोग प्रदान गरिनेछ । कार्यक्रम सहजीकरण प्रमुख तथा दायित्वका वरिष्ठ कार्यक्रम प्रबन्धक सञ्जय पोख्रेलका अनुसार स्थलगत अनुगमन तथा मूल्याङ्कनका आधारमा उत्कृष्ट १० उद्यमहरू छनोट गरिनेछन्। यी उद्यमीहरूलाई निम्न विशेष सहयोग उपलब्ध गराइनेछ ।
उत्पादन क्षमता अभिवृद्धि,मूल्य श्रृंखला विकास, बजार पहिचान तथा ब्रान्डिङ रणनीति, प्रविधि नवप्रवर्तन र अनुकूलन, बिक्री प्रवद्र्धन र बजारीकरण सहयोग, प्रदेश र राष्ट्रिय स्तरसम्म उद्यम प्रदर्शनीमा सहभागिता यी सबै हस्तक्षेपहरूले उद्यमीहरूलाई वित्त, बजार र प्रविधिसँग जोड्दै उद्यमलाई दिगो बनाउने तथा ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको मूल उद्देश्य ग्रामीण क्षेत्रमा साना तथा लघु उद्यमहरूलाई दुतिकरण गर्दै रोजगारी तथा आयवृद्धि गर्नु हो । साथै बहु–सरोकाको सहभागिता, ज्ञान आदानप्रदान तथा स्थानीय शासन क्षमताको सुदृढीकरण यस कार्यक्रमका प्रमुख उद्देश्यका रूपमा रहेका छन् ।
रेसुङ्गा नगरपालिकालाई उद्यमशील बनाउने साझा यात्रामा सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक छ । यो कार्यक्रमले स्थानीय उद्यमीलाई प्रदेश र राष्ट्रिय स्तरसम्म पुग्ने बाटो खोल्नेछ ।
रेसुङ्गा नगरपालिका र दायित्वको साझेदारीमा संचालित यो कार्यक्रम ग्रामीण उद्यम विकासमार्फत समृद्धिको आधार तयार गर्ने महत्वपूर्ण परियोजना मानिएको छ । रेसुङ्गा नगरपालिकामा कृषि, पर्यटन, सेवाक्षेत्र र उत्पादनमूलक उद्यमका विशाल सम्भावना छन् । यी सम्भावनालाई व्यवस्थित उद्यमशीलतामार्फत वास्तविक अवसरमा रूपान्तरण गर्ने उद्देश्यले ‘मिसन रोजगारी’ सुरु गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।
स्थानीय उद्यमीलाई सीप, प्राविधिक सहयोग, लगानीमैत्री वातावरण र बजार पहुँच प्रदान गर्दै नगरलाई उद्यमशील र रोजगारमुखी बनाउने साझा यात्रामा अघि बढिरहेको पन्थीले बताउनुभयो । यस अभियानमा सहभागी सबै उद्यमीहरू, समुदाय, सरोकारवाला तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता नै यस कार्यक्रमको सफलता भएको उहाँले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्