‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?
टस जितेर ब्याटिङमा जनकपुर

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लिग चरणको २५औँ खेल हुँदैछ । लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच हुने उक्त खेल ‘प्लेअफ’मा पुग्ने अन्तिम टोलीसँग जोडिएकाले विशेष हुनेछ ।
हालसम्म ‘प्लेअफ’मा पुग्ने चारमध्ये तीन टोलीको टुङ्गो लागेको छ । अङ्क तालिकाको पहिलो स्थानमा अपराजित सुदूरपश्चिम रोयल्स छ । सुदूरपश्चिम क्वालिफायर एकमा पनि स्थान सुरक्षित गरिसकेको छ । त्यसबाहेक काठमाडौँ गोर्खाज र विराटनगर किंग्स ‘प्लेअफ’मा पुगे पनि क्वालिफायर एकको दौडमा छन् । क्वालिफायर एकमा सुदूरपश्चिमको सामना कस्ले गर्ने भन्ने निर्णय सुदूरपश्चिम र विराटनगरबीच शनिबार हुने खेलपछि टुङ्गो लाग्नेछ ।
उक्त खेल विराटनगरले जितेमा ऊसँग काठमाडौँ गोर्खाजसँग बराबरी अर्थात् १० अङ्क हुनेछ । त्यसपछि रनरेटका आधारमा क्वालिफायर एकमा जाने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । अहिले काठमाडौँ गोर्खाजको रनरेट ०.५३७ छभने विराटनगरको रनरेट ०.१८९ छ । विराटनगरलाई क्वालिफायर एकमा पुग्नका लागि जित मात्रै पर्याप्त हुने छैन । उसले ठूलो अन्तरमा सुदूरपश्चिमलाई पराजित गर्नुपर्नेछ । यदि विराटनगरले उक्त खेल जित्न नसकेमा काठमाडौँ गोर्खाज स्वतः क्वालिफायर एकमा जानेछभने विराटनगर किंग्सले क्वालिफायर दुईका लागि ‘एलिमिनेटर’ खेल्नुपर्नेछ ।
क्वालिफायर एकमा तालिकाका शीर्ष दुई टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । साथै क्वालिफायर दुईमा पुग्नका लागि अङ्कतालिकामा तेस्रो र चौथो हुने टोलीले ‘एलिमिनेटर’ खेल्नेछन् । क्वालिफायर एकमा विजयी हुने टोली स्वतः फाइनलमा प्रवेश गर्ने छभने पराजित हुने टोलीले ‘एलिमिनेटर’को विजेतासँग क्वालिफायर दुई खेल्नेछ ।
अब रह्यो कुरा प्लेअफमा पुग्ने चौथो टोलीको । यदि आज लुम्बिनी लायन्स विजयी भयो भने लुम्बिनी आठ अङ्कसहित स्वतः प्लेअफमा पुग्नेछ । यदि लुम्बिनी लायन्स पराजित भयो भने, प्लेअफका लागि जनकपुर बोल्ट्स, पोखरा एभेञ्जर्स र चितवन राइनोजको सम्भावना कायमै रहनेछ । कर्णाली याक्स भने यसअघि नै प्लेअफको दौडबाट बाहिर गइसकेको छ ।
लुम्बिनीविरुद्धको आजको खेल जनकपुरले जितेको अवस्थामा उसले कर्णाली याक्सलाई आफ्नो अन्तिम खेलमा पराजित गर्नुपर्ने छभने पोखरा र चितवनका लागि आफ्नो अन्तिम खेल नकआउट हुनेछ । जनकपुरले आज र आइतबारको खेलमा जित निकालेको अवस्थामा उसले पोखरा र चितवनबीच हुने खेलको विजेतासँग रनरेटमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
जनकपुर टस जितेर ब्याटिङमा
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
कीर्तिपुरस्थित मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ । छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अतिआवश्यक छ । लुम्बिनीले जितेको खण्डमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने छन् । यदि यो खेल जनकपुरले जितेमा अङ्कतालिका रोमाञ्चक हुनेछ । जनकपुरको हालसम्म पाँच खेलबाट दुई अङ्क मात्रै छ । जितेको खण्डमा चार अङ्क हुनेछ ।
त्यसपछि अन्तिम खेल बाँकी रहँदा सबै टोलीको प्रतिस्पर्धा बढ्नेछ । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अङ्कका साथ पहिलो क्वालिफायरका लागि छनोट भइरहेको छ । काठमाडौँ गोर्खाज र विराटनगर किङ्ग्स प्लेअफमा सुरक्षित छन् । कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।






प्रतिक्रिया राख्नुहोस्