अस्ताउँदै गरेको सूर्य हेर्ने गन्तव्य बन्दै सुनसरीको बोराबाँध

सुनसरी –  इलामको श्रीअन्तु जस्तै अब सुनसरीमा पनि उदाउँदै होइन, अस्ताउँदै गएको सूर्य हेर्न पाइने नयाँ पर्यटकीय गन्तव्यको उदय भएको छ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–६ मा अवस्थित बोराबाँध हालसालै सप्तकोशी किनारकै एउटा भाइरल स्पट बनेको छ।

यहाँ मनमोहक सूर्यास्तका दृश्य हेर्न तथा तस्विर–भिडियो कैद गर्न दैनिक रूपमा पर्यटकको ओइरो लाग्ने गरेको स्थानीयवासी बताउँछन्।

बिहान उदाउँदै गरेको सूर्यको सुन्दरताका कारण प्रसिद्ध श्रीअन्तु घामडाँडा जस्तै बोराबाँध अब साँझ अस्ताउँदो सूर्यको आकर्षण  केन्द्र बन्दै गएको छ। नदीको किनार, खुला आकाश र कोशीको चम्किलो सतहमाथि परावर्तित सूर्यास्तको दृश्यले जो–कोहीलाई मोहित बनाउने गर्दछ।

सप्तकोशीको मुहान नजिकैको रमणीय भू–दृश्यका कारण यहाँ आएका धेरै पर्यटकहरू मोबाइलमै क्षण कैद गरी टिकटक, फेसबुक र इन्स्टाग्राममा भिडियो तथा फोटो पोस्ट गर्दै यसलाई झनै चर्चित बनाइरहेका छन्।

प्राकृतिक सुन्दरता, शान्त वातावरण र सहज पहुँचले गर्दा बोराबाँध छिट्टै स्थानीय पर्यटनको हब बन्ने संकेत देखिएको छ।

स्थानीय स्तरमा अहिले विभिन्न होटेल, कफी स्पट तथा फोटो–प्वाइन्टको तयारी पनि तीव्र भइरहेको छ। प्राधिकरणले उचित योजना बनाएर संरक्षण र व्यवस्थापन गर्न सके बोराबाँध भविष्यमा कोशी प्रदेशकै प्रमुख सूर्यास्त–पर्यटन गन्तव्य बन्ने आकांक्षा राखिएको छ। यसलाई थप प्रचारप्रसार गर्न महोत्सवको तयारी समेत गरिएको अभियन्ता भीषण राईले जानकारी दिनुभएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.