घोराही–तुलसीपुर चार लेन सडकको काम सुरु

दाङ – घोराही–तुलसीपुर चार लेन सडक निर्माण सुरु भएको छ । चार लेन सडक विस्तारसँगै स्तरोन्नतिका लागि घोराही उपमहानगरपालिका–१० अमराईदेखि सडक निर्माणको काम दिवा÷बन्दन भगवती जेभीले सुरु गरेको हो ।
सडक निर्माणका लागि पहिलो चरणमा दुई वटा एक्स्काभेटर प्रयोग गरेर सडकको दायाँबायाँ साइडमा माटो कटिङ, सर सफाइसँगै खाडल भएको ठाउँमा माटो फिलिङ गर्ने काम गरिरहेको दिवा÷बन्दन भगवती जेभीका मेनेजर इन्जिनियर सुनिल ढुङ्गानाले जानकारी दिनुभएको छ । उहाँका अनुसार माटो फिलिङ भएसँगै रोलिङ गरेर ग्राभेल राख्ने काम गरिनेछ । ग्राभेल भरेपछि उक्त सडकमा सवारीसाधनहरू गुड्न सक्नेछन् । उहाँका अनुसार घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्तीखौसम्मको करिब २१।५८ किलोमिटर सडक खण्डमध्ये पहिलो चरणमा गुर्जेखोलादेखि सौडिकुलासम्मको काम सडकको काम हुनेछ ।
सम्झौता अनुसार स्तरोन्नति हुने सडक सहरी क्षेत्रमा २० मिटर कालोपत्रे र फुटपाथसहित ३० मिटर कायम हुने छ । घोराही–तुलसीपुर चार लेन सडक स्तरोन्नतिका लागि दुई अर्ब ५३ करोड रुपियाँमा काठमाडौँको दिवा÷बन्दन भगवती जेभीसँग २०८२ असार २४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले २०८५ असार २४ गतेसम्म घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम सक्नुपर्ने छ ।






प्रतिक्रिया राख्नुहोस्