नगरपालिकाबाट शिक्षकलाई स्थानीय भत्ता

खोटाङ – खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाले शिक्षकलाई स्थानीय भत्ता दिने भएको छ । शिक्षक तथा कर्मचारीको लागि नेपाल सरकारको कार्यक्रम कार्यान्वयन कार्यविधि पुस्तिकाअनुसार कार्यपालिका बैठकबाट उक्त निर्णय पारित गरेको  हो ।

सो नगरपालिकाले चालु आर्थिक वर्षदेखि लागू हुने गरी शिक्षकलाई स्थानीय भत्ता दिने भएको हो । नगरपालिकाको १ सय ३६ औँ कार्यपालिका बैठकबाट स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी÷करार र प्राविधिक धारमा कार्यरत प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई स्थानीय भत्ता दिने निर्णय पारित गरिएको नगरप्रमुख विमला राईले जनाउनुभयो । स्थानीय भत्ता शिक्षकको तह अनुसार फरक–फरक हुने नगरप्रमुख राईको भनाई छ । नगरपालिकामा कार्यरत शिक्षकले चालु आर्थिक वर्षको साउन–१ गतेबाट लागू हुने गरी वर्षभरिमा साढे दश महिनाको स्थानीय भत्ता पाउने उल्लेख छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न पहलहरू गरिरहेको नगरपालिकाले शैक्षिक सुधारमा लागेका शिक्षकहरूको मनोबल उच्च बनाउनका लागि उक्त कार्यक्रम लागू गरिएको जनाइएको छ । नगरपालिकामा १२ वटा माध्यमिक, १५ वटा आधारभूत र ५९ वटा प्राथमिक तह गरी ८६ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । नगर कार्यपालिकाको निर्णयअनुसार शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउनका लागि एक आर्थिक वर्षमा एक करोड ७३ लाख खर्च हुने अनुमान गरिएको छ ।

बाल विकास केन्द्रदेखि कक्षा–१२ सम्म करिब पाँच हजार दुई सय विद्यार्थी अध्ययनरत रहेको नगरपालिकामा ३ सय ९ जना शिक्षक कार्यरत छन् । सेवा सुविधाका हिसाबले नेपाल सरकारको ‘ग’ वर्गमा राखिएको खोटाङका शिक्षकले सोही अनुसार स्थानीय भत्ता पाउने कार्यविधिमा उल्लेख छ । नेपाल सरकारले तोकेअनुसार नगरपालिकाबाट स्थानीय भत्ता पाउने भएपछि हलेसी तुवाचुङ नगरपालिकाभित्र कार्यरत शिक्षकहरू उत्साहित भएका छन् ।

शिक्षकलाई स्थानीय भत्ता दिने व्यवस्था कार्यान्वयनका लागि नेपाल शिक्षक महासङ्घ हलेसी तुवाचुङ नगर समितिले गत कात्तिक–२६ गते नगरपालिकाको ध्यानाकर्षण गराएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपाल सरकारले लागू गरेको शिक्षकका लागि स्थानीय भत्ता कार्यक्रम तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको थियो । स्थानीय भत्ताका लागि सङ्घीय सरकारले बजेट समेत उपलब्ध गराउँदै आएको छ । मन्त्री पुनले यही यही मङ्सिर–९ गते सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्नुहुँदै तत्काल कार्यान्वयन गर्न स्थानीय तहहरूलाई निर्देशन दिनुभएको हो ।

जिल्लाका दश स्थानीय तहमध्ये बराह पोखरी गाउँपालिकाले शिक्षकलाई स्थानीय भत्ता दिने कार्यक्रम कार्यान्वयनमा लगिसकेको छ । जिल्लाका अन्य स्थानीय तहले अहिलेसम्म स्थानीय भत्ता कार्यक्रम कार्यान्वयन गरेका छैनन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.