कवि मुकुन्द शरणको रथारोहण

कास्की- कवि एवम् भाषाविद् मुकुन्द शरण उपाध्यायलाई रथारोहण गराइएको छ ।नेपाली भाषा, साहित्य तथा व्याकरणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको भन्दै मदन पुरस्कार विजेता उपाध्यायलाई उहाँकै जन्मगाउँ पोखराको हेमजामा हिजो रथारोहण सहित नागरिक अभिनन्दन गरिएको हो।
हेमजा साहित्य महोत्सवका बिच मूल समारोह समितिले हेमजाको लामा चौतारादेखि साझा चोक, मिलन चोक हुँदै महोत्सव स्थल ज्ञान सागर एकेडेमी प्राङ्गणसम्म रथारोहण गराएको हो । त्यस अवसरमा देशभरबाट त्यहाँ पुग्नुभएको सयौँ सष्ट्रा, गण्डकी क्षेत्रका अधिकांश वाङ्मयिक सङ्घसंस्थाका प्रतिनिधि एवम् स्थानीयवासीको सहभागिता रहयो ।
उपाध्यायलाई अभिनन्दन गर्नुहुँदै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उपाध्यायलाई अभिनन्दन गर्दा सिङ्गो नेपाली भाषा, साहित्य नै सम्मानित भएको भनाई राख्नुभयो ।उहाँले प्राकृत पोखरा कृत्ति मार्फत उपाध्यायले पोखराको प्रकृति सौन्दर्य विश्वसामु पुर्याउनुभएको पनि औँल्याउनुभयो।
अभिनन्दित व्यक्तित्व उपाध्यायले आयोजक संस्थाप्रति आभार प्रकट गर्नुहुँदै नेपाली भाषा, साहित्य र व्याकरणका क्षेत्रमा अझ धेरै अनुसन्धान गर्न बाँकी रहेको सुनाउनुभयो।
वक्ताहरूले प्रकृतिलाई मानवीकरण र मानवलाई प्रकृतिकरण गर्ने एक सच्चा सष्ट्राका रूपमा मुकुन्दशरणलाई चिनाउनुहुँदै उपाध्यायको जीवन पाठशाला जस्तै रहेको उल्लेख गर्नुभयो।
समारोहका बिच शिव त्रिपाठीको जिन्दगीका सय टुक्रा कृत्ति, पण्डित माधव शरण पौडेलको नेपाल के कम छ र ? कविता हार तथा प्रेमराज पौडेलको एक्लो रात म्युजिक भिडियो लोकार्पण पनि गरियो।
हाल काठमाडौँ टंगाल निवासी उपाध्यायका निम्वार्क चरितम्(संस्कृत काव्य), शारणागति शतकम्, वरदान(उपन्यास), प्राकृत पोखरा (मूल), प्राकृत पोखरा(संस्कृत अनुवाद), महाभारत सूक्ति सुधा, धरती र आकाश, शैलसरिता, प्रस्तावना र विवेचना, सरल नेपाली शुद्ध नेपाली, अक्षर प्रज्ञा, पद्य प्रभा, व्याकरण चिन्तन लगायतका कृत्ति प्रकाशित छन् ।
त्यस्तै व्याकरण विज्ञान, पुराण संहिता, हिन्दी नेपाली शब्दकोश, नेपाली हिन्दी शब्दकोश, शरणागति शतकम्, भाषा भारती,
व्यासावतरणम्, शब्द सम्पदा, हिन्दी कविता सङ्ग्रह, शैल सरिता, मनुस्मृति सार, महाभारत सूक्ति सुधा लगायतका कृति
प्रकाशोन्मुख रहेको उल्लेख छ।
जसमध्ये प्राकृत पोखरा (मूल) काव्यले वि.स २०२१ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।






प्रतिक्रिया राख्नुहोस्