धनकुटाको राजा रानीमा बजार अनुगमन, सुधार गर्न निर्देशन

धनकुटा- धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजा रानी बजारमा छड्के अनुगमन गरी पसलहरू सुधार गर्न निर्देशन दिइएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च लगायतको संयुक्त टोलीले अनुगमन गरेको हो।
अनुगमनका क्रममा किराना पसलमा उपभोग्य मिति नाघेका पेय पदार्थ लगायत खाद्यवस्तु फेला परेका थिए। उक्त पसलहरूमा भेटिएका म्याद गुज्रिएका खाद्यवस्तु जफत गरी नष्ट समेत गरिएको थियो। यस्तै अधिकांश किराना पसलहरूलाई सुधार गर्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी विकास कार्कीले जानकारी दिनुभयो।
यस्तै अनुगमनका क्रममा किराना पसलहरू दर्ता नगरी सञ्चालन भएका व्यवसायलाई दर्ता गरेर मात्र सञ्चालन गर्न सुझाव दिइएको छ। सामान राख्दा हेरेर मात्रै राख्न तथा उपभक्तलाई बेच्न आग्रह गरिएको थियो। राजा रानीका करिब एक दर्जन किराना तथा बेकरी पसलको अनुगमन गरी सुधार गर्न निर्देशन दिइएको हो।
म्याद गुज्रिएका खाद्यवस्तु भेटिएका पसलहरूलाई आगामी दिनमा पुनः यस्तो गल्ती नदोहोर्याउन अनुगमन टोलीले चेतावनी समेत दिएको छ। यस्तै दैनिक उपभोग्य बस्तु खरिद बिक्री गर्दा उपभोक्ता नठगिउन् भनेर अनुगमनलाई तीव्रता दिइएको बताइएको छ।






प्रतिक्रिया राख्नुहोस्