दिक्तेल–गाईघाट सडकबिचको फोक्सिण्टारमा बेलिब्रिज राख्न सुरु

खोटाङ – दिक्तेल–गाईघाट सडक खण्डको सुनकोसी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ । सगरमाथा लोक मार्ग अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी नदीमा अस्थायी बेलिब्रिज जडान भइरहेको हो ।
फोक्सिङटारमा मोटरे बल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याउन लागिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका जिल्लासँग सिधा यातायात सञ्चालन गर्ने गरी जडान सुरु गरिएको अस्थायी बेलिब्रिज यही पुसदेखि नियमित हुने भएको छ । विगत छ महिनादेखि अवरुद्ध लोक मार्गमा बेलिब्रिज जडानको काम सुरु भएसँगै दुई जिल्ला जोड्ने सिधा यातायात सञ्चालन हुने निश्चित भएको हो ।
गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका अनुसार ठेक्का सम्झौता भइसकेको र सम्पूर्ण सामग्री तयारी अवस्थामा पुगेकाले अबको केही दिनभित्रै काम सम्पन्न हुने भएको छ । योजना कार्यालय उदयपुरका सूचना अधिकारी इन्जिनियर सुभाषकुमार तिवारीका अनुसार आगामी पुस–१५ गतेभित्र अस्थायी बेलिब्रिज जडानको काम सम्पन्न गरेर यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
ठेक्का सम्झौता गरेको लामो समयसम्म सुनकोसी नदीमा पानीको सतह नघटेकाले काम सुरु गर्न केही ढिलाइ भए पनि अब सतह कम हुँदै गएकाले तीव्र गतिमा काम अगाडि बढाइने ठेकेदार कम्पनीले जनाएको छ । अस्थायी बेलिब्रिज जडान गर्ने ठेक्का एमए÷एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रा.ली.कटारी–३, उदयपुरले लिएको छ ।
मूल्य अभिवृद्धि कर (भ्याट)सहित ९६ लाख ७७ हजार ९ सय ३७ मा ठेक्का सम्झौता गरेर बेलिब्रिज जडानको काम सुरु गरिएको ठेकेदार कम्पनीले जनाएको छ । गत वर्ष असोज–१२ गते राति आएको अविरल वर्षाका कारण सुनकोसी नदीमा आएको भीषण बाढीले १ सय २० मिटर लामो मोटरे बल पक्की पुल बगाएको थियो । फोक्सिङटारको मोटरे बल पक्की पुल बाढीले बगाएपछि गाईघाट–दिक्तेल सिधा यातायात पूर्णरुपमा विच्छेद भएको छ ।
करिब १३ वर्ष लगाएर निर्माण भएको आर्क डिजाइनको पुल बाढीले बगाएपछि गत वर्षको पुसमा जडान गरिएको बेलिब्रिज वर्षा याम सुरु भएसँगै निकालिएको थियो ।
उता, सुनकोसीकै बङ्शिलाघाटमा समेत अस्थायी बेलिब्रिज जडानको काम धमाधम भइरहेको छ । खोटाङको बराह पोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोसीस्थित बङ्शिलाघाटमा कोसी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ५७ लाख रुपैयाँ लगानीमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको हो ।
गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रा.ली.ले जडानको जिम्मा लिएको बङ्शिलाघाटको अस्थायी बेलिब्रिज पुस पहिलो हप्ताभित्र सम्पन्न गरेर सञ्चालनमा ल्याउने सम्झौतामा उल्लेख । आगामी वि.सं. २०८३ जेठ पहिलो सातासम्म सञ्चालन गर्ने गरी जडान सुरु गरिएको अस्थायी बेलिब्रिजको लम्बाई ५१ दशमलव ८१ मिटर लामो छ ।
बङ्शिलाघाटको अस्थायी बेलिब्रिजका लागि आवश्यक सामग्री कोसी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले एक करोड ८७ लाखमा खरिद गरेर पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेको कार्यालय प्रमुख विनम दाहालले जनाउनुभयो । लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा ढिलै भए पनि बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडान हुने भएपछि हर्षित भएका छन् ।
बंशिलाघाटमा मोटरे बल पक्की पुल समेत निर्माण भइरहेको छ । बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका बराह पोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग माग गरेका थिए । बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज जडानका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराएर जडानको काम सुरु गरिएको कोसी प्रदेश सरकार भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बताउनुभयो ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहका स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै बङ्शिलाघाटमा मोटरे बल पक्की पुल निर्माणको काम सुरु गरिए पनि त्यसले गति लिन सकेको छैन । तीन वर्ष आठ महिनाभित्र बनाइसक्नुपर्ने गरी कालिका–बेदान्सी जेवीले वि.सं. २०७७ पुस–२८ गते ठेक्का सम्झौता गरेको मोटरे बल पक्की पुलको पिलर ठड्याउने काम बाहेक अन्य कार्य अघि बढ्न सकेको छैन । ।






प्रतिक्रिया राख्नुहोस्