ध्वज डाँडामा बहु सांस्कृतिक पार्क: पहाडको टुप्पोमा नयाँ पर्यटकीय गन्तव्य

धनकुटा- पछिल्लो समयमा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने प्रयास भइरहेका छन्। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण स्थानहरूको संरक्षण र प्रवर्द्धनका साथै पर्यटन विकास गर्ने उद्देश्यले विभिन्न कामहरू अगाडि बढाइँदै छन्। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पहाडी गाउँहरू आजभोलि निकै बदलिँदै छन्। पहाडका भिरालो पाखादेखि बस्ती वरिपरिका जङ्गलसम्म गाउँ–गाउँमा पर्यटनको नयाँ सम्भावनाबारे चर्चा गर्न थालिएको छ। यस्तै परिवेशमा धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका वडा नं। ६ मा रहेको ध्वजे डाँडा बहु सांस्कृतिक पार्क पछिल्लो समय एक आकर्षक ‘उदीयमान गन्तव्य’का रूपमा पहिचान हुँदै गएको छ।
केही वर्षअघि मात्र ध्वजे डाँडा सामान्य घना बुट्यानले ढाकिएको, स्थानीयबाहेक कोही खासै चासो नदिने स्थान थियो। समुन्द्री सतहबाट करिब २ हजार ३ सय मिटरको उचाइमा रहेको यो ठाउँबाट सूर्योदय, सूर्यास्त र हिमालहरूको शृङ्खलामय दृश्य एकसाथ हेर्न सकिन्छ। त्यसैले यस स्थानमा पर्यटनको सम्भावना देखिएको हो। भौतिक पूर्वाधार विस्तारसँगै अहिले यहाँ आउने पर्यटकहरूको सङ्ख्या लगातार बढ्दै गएको छ।
ध्वजे डाँडालाई केवल दृश्य हेर्ने स्थान मात्र होइन, जिल्लाकै प्रमुख पर्यटकीय र सांस्कृतिक गन्तव्य बनाउने लक्ष्यका साथ काम गरिरहेको छथर जोरपाटी गाउँपालिका अध्यक्ष गाउँपालिका अध्यक्ष छत्र सुब्बाको भनाइ छ। गाउँपालिकाले अन्य सम्भावित स्थानहरूमा पनि समान रूपमा पर्यटन पूर्वाधार निर्माण अघि बढाइरहेको सुब्बाको भनाइ छ।
जोरपाटी बजार नजिकै रहेको यस पार्कको खास विशेषता यसको बहु सांस्कृतिकता हो। पार्कमा लिम्बु समुदायको ‘सिलाम साक्मा’ र मगर समुदायको ‘खुर्पेटो स्तम्भ’ निर्माण गरिएको छ। यसले स्थानीय संस्कृतिलाई दृश्यगत रूपमा प्रस्तुत गरेको छ। यी संरचनाहरूले स्थानीय समुदायका मौलिक परम्परा, अनुष्ठान र पहिचानलाई पर्यटकहरूलाई प्रत्यक्ष अनुभूति गराउने उद्देश्य राखिएको छ। यससँगै पार्कसम्मको यात्रालाई सहज बनाउन ‘छथर ग्रेट वाल’ नाम दिइएको आकर्षक इँटाको पर्खाल दुवै किनारमा बनाइएको छ, जसले यहाँको दृश्य र बाटो दुबैमा नयाँ सौन्दर्य थपिदिएको छ।
ध्वजे डाँडा क्षेत्रको विकास केवल पर्यटनसम्म सीमित छैन—यो जलस्रोत संरक्षणसँग पनि गहिरो रूपमा जोडिएको छ। स्थानीय पानीका मुहानहरू सुक्दै गएपछि निबुवा–ताङखुवा जलाधारको संरक्षणलाई प्राथमिकता दिइएको छ। डिफ्याकको साझेदारी र इसिमोडको कार्यक्रमअन्तर्गत सिँचाइ पोखरी निर्माण, वर्षा–पानी सङ्कलन र मुहान संरक्षणका विभिन्न गतिविधि सञ्चालन भइरहेको धनकुटास्थित हुसाडेक नेपालका अध्यक्ष सरोजकुमार भुजेलको भनाइ छ। पार्क क्षेत्रमै निर्माण गरिएको डाले पोखरीले अहिले आसपासका खेतबारीमा सिँचाइ सुविधा पु¥याइरहेको छ।
पार्क क्षेत्रमा बस्ने चौतारीदेखि दृश्य अवलोकनका थलो, पदमार्ग र विश्राम स्थलहरू निर्माण भइसकेका छन्। यद्यपि यो स्थानले भरपुर प्राकृतिक सुन्दरता बोके पनि प्रचारप्रसार न्यून हुँदा बाह्य पर्यटकलाई आकर्षित गर्न चुनौती रहेको काठमाडौँबाट आएका पर्यटक पल्लव पण्डितको भनाइ छ। “यति सुन्दर ठाउँ प्रचार भएन भने कसरी बाहिरका मानिसले थाहा पाउँछन्रु,” पण्डित भन्नुहुन्छ।
ध्वजे डाँडा धारा पानी मूल संरक्षण समितिका अध्यक्ष जगत् सिँगालीका अनुसार पार्क विकासको मूल उद्देश्य केवल भौतिक संरचना बनाउनु मात्र होइन, स्थानीय जातीय तथा सांस्कृतिक परम्पराहरूलाई प्रवर्द्धन गर्नु पनि रहेको छ। पहिलो कुरा त स्थानीयको सक्रियता हो त्यसपछि स्थानीय, आन्तरिक र बाह्य पर्यटनलाई जोड्न सके ध्वजे डाँडा प्रमुख गन्तव्य बन्न ठुलो समय नलाग्ने सिंजालीको भनाइ छ।
हालसम्म स्थानीय सरकार अर्थात् छथर जोरपाटी गाउँपालिका, इसिमोड र प्रदेश सरकारको करिब २ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। संरचना निर्माणसँगै प्रभावकारी प्रचारप्रसार र नियमित कार्यक्रम सञ्चालन गर्न सके ध्वजे डाँडा धनकुटा जिल्लामा मात्र होइन, सम्पूर्ण पूर्वाञ्चलमै अग्रणी पर्यटकीय गन्तव्यका रूपमा उदाउने सम्भावना प्रबल छ। ध्वजे डाँडाको काखमा फैलिएको बहु सांस्कृतिक पार्क केवल घुम्न आउने स्थल मात्र होइन—यो स्थानीय पहिचान, संस्कृति, प्रकृति र सामुदायिक प्रयासको सङ्गम हो। पहाडको चुरूमाथि फैलिएको यो नयाँ आकर्षणले अब गाउँको कथा आकर्षक पर्यटनका माध्यमबाट लेख्न थालेको छ।






प्रतिक्रिया राख्नुहोस्