तनहुँको बन्दीपुरमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्यो

तनहुँ- पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको तनहुँको बन्दीपुरमा यति वेला पर्यटकको चहलपहल बढेको छ । मौलिक शैलीमा बनेको भक्तपुरे घरले पर्यटकलाई आकर्षित गरेपछि पर्यटकीय चहलपहल बढेको हो । पर्यटकको चहलपहल बढाउन बन्दीपुर भ्रमण वर्ष २०२५ ले समेत सहयोग गरेको छ । बन्दीपुरमा पर्यटकको चहलपहल बढेको स्थानीय कर्ण बहादुर खत्रीले बताउनुभयो ।
बन्दीपुरमा पर्यटकको बसाई लम्बाउन मणि मुकुन्देश्वरी पर्खाल, विभिन्न मन्दिर, गुफा, सहिद स्मारक उद्यानलगायत १७ वटा गन्तव्यको सूची ७ भाषामा तयार गरेर प्रचारप्रसार गरिएको छ । काठमाडौँका उद्धव तिमिल्सिनाले बन्दीपुरको मौलिकताले आकर्षित गरेको बताउनुभयो ।
बन्दीपुर तनाब व्यवस्थापन गर्न समेत उपयोगी स्थान बन्दै गएको आन्तरिक पर्यटक सरोज भण्डारीको भनाई छ ।
बन्दीपुरमा दैनिक ५ सयदेखि एक हजार आन्तरिक र बाह्य पर्यटक बस्ने गरेको बन्दिपुर भ्रमण वर्षका संयोजक बैस गुरुङले जानकारी दिनुभयो । बन्दीपुरमा होटल र होमस्टे गरेर दैनिक पन्ध्र सय पर्यटक बास बस्न सक्ने प्रबन्ध रहेको गुरुङले बताउनुभयो । मौलिक शैलीका घर, न्यानो आतिथ्यता, बन्दीपुरबाट देखिने हिमाल एवं सुन्दरताले पर्यटकको आगमन बन्दीपुरमा बढेको छ । बन्दीपुरमा पर्यटनको आगमनले व्यवसायी समेत उत्साहित भएका छन् । बन्दीपुरमा नेपालका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् भने भारत, चिन, जर्मन अमेरिका, बेलायत लगायतका विभिन्न देशबाट बाह्य पर्यटकको समेत आगमन हुने गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्