गुल्मीमा पूर्व विद्यार्थीव्दारा विद्यार्थीलाई न्यानो कपडा वितरण

गुल्मी – गुल्मीमा पूर्व विद्यार्थीले आफैले पढेको विद्यालयमा न्यानो कपडा वितरण गरेका छन् । नेपालकै कान्छा ज्योतिषका रूपमा परिचित चुरामणी पाण्डेद्वारा भगवती माध्यमिक विद्यालय सिमी चौरमा न्यानो कपडा वितरण गर्नु भएको हो ।
चिसो बढ्दै गएसँगै विभिन्न स्थानमा बालबालिकालाई न्यानो कपडाको आवश्यकता बढिरहेको बेला पूर्व युवा विद्यार्थीले समाजसेवी मनोभाव देखाउनु भएको छ । रेसुङ्गा नगरपालिका–१० निवासी तथा नेपालकै कान्छा ज्योतिषका रूपमा चिनिएका चुरामणी पाण्डेले आफैँ अध्ययन गरेको भगवती माध्यमिक विद्यालयका करिब १८२ जनाभन्दा धेरै विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नु भएको हो । पाण्डेले विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको विद्यालयले जनाएको छ।
विद्यालयमा एकैसाथ सबै कक्षाका विद्यार्थीलाई लक्षित गरी गरिएको यो कार्यले विद्यार्थीहरूमा पढाइमा उत्साह थपिने अपेक्षा गरिएको छ । आफैले पढेको विद्यालयमा सामाजिक भाव स्वरूप केही गरौँ भन्ने उद्देश्यले न्यानो कपडा सहयोग गरेको ज्योतिष चुरामणी पाण्डेले बताउनुभयो । उहाँले यस्तो खालको कार्यक्रम अरू ठाउँमा पनि पुग्ने उद्घोष गर्नुभयो ।
उहाँले विद्यार्थीहरूको लागि गरिएको सहयोगले पढाइमा मनोबल र चिसोमा सहजता पूर्वक विद्यालयमा पढ्न आउन जान मद्दत पुग्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक घनश्याम पाण्डेले चुरामणी पाण्डेप्रति धन्यवाद व्यक्त गर्दै विद्यार्थीमैत्री सहयोगले पठन–पाठनमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
उहाँका अनुसार न्यानो कपडा पाएपछि विद्यार्थीहरू चिसो मौसममा सुरक्षित रूपमा विद्यालय आउन सहज हुने र अध्ययनमा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै रेसुङ्गा नगरपालिका–१० का वडा अध्यक्ष रामबहादुर बस्नेतले चुरामणी पाण्डेले गरेको कार्यको प्रशंसा गर्दै युवाहरूले अनुसरण गर्ने खालको कार्य भएको बताउनुभयो ।
युवापुस्ताले आफ्नो समुदाय र विद्यालयका लागि यस्तो उदाहरणीय काम गर्नु गर्वको विषय भएको उल्लेख गर्नुभयो । बस्नेतले यसले समाजमा सहयोग र सद्भावना बढाउन ठूलो भूमिका खेल्ने बताउनुभयो ।
स्थानीय अभिभावक, शिक्षक तथा विद्यार्थीहरूले चुरामणी पाण्डेद्वारा गरिएको यो सहयोगलाई अत्यन्तै प्रशंसनीय भन्दै धन्यवाद व्यक्त गरेका छन् । सामुदायिक भावनाले प्रेरित यस प्रकारको सहयोगले अन्य युवाहरूलाई पनि समाजसेवामा अगाडि बढ्न प्रेरणा गर्ने विश्वास गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्