सुनसरीमा सीमा स्तम्भ मर्मत तथा रंगरोगनको कार्य सुरु

सुनसरी – सुनसरी र कोसी प्रदेश अन्तर्गत नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा रहेका सीमा स्तम्भहरूको मर्मत तथा रंगरोगनको कार्य औपचारिक रूपमा सुरु भएको छ ।
सन २०१४ तिर निर्माण तथा मर्मत गरिएका अधिकांश स्तम्भ समयसँगै जीर्ण, क्षतिग्रस्त र खुइलिएको देखिएपछि दुवै देशका सुरक्षा निकायको समन्वयमा पुनः मर्मत कार्यलाई तीव्रता दिइएको हो ।
यसै क्रममा नेपाली तथा भारतीय पक्षका सुरक्षा अधिकारीहरूको उपस्थितिमा सुनसरीको सीमा क्षेत्रमा स्थलगत अवलोकन सम्पन्न गरिएको छ । अवलोकनपछि स्तम्भहरूको वास्तविक अवस्था अध्ययन गरी क्रमबद्ध रूपमा मर्मत तथा रंगरोगन सुरु गरिएको सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापाले जानकारी दिनु भएको छ ।
थापाका अनुसार समझदारीअनुसार जोर नम्बरका स्तम्भ भारतीय पक्षले र बिजोर नम्बरका स्तम्भ नेपाली पक्षले मर्मत गर्ने व्यवस्था छ । सोही अनुसार काम अघि बढाइएको हो ।
सुनसरीको ६१.९ किलोमिटर सीमा क्षेत्रमा कुल २ सय ८७ वटा सीमा स्तम्भ रहेका छन् ।
तीमध्ये १ सय ३१ वटा जोर नम्बरका स्तम्भको मर्मत कार्य भारतीय पक्षले सुरु गरिसकेर ८१ वटा स्तम्भमा रंगरोगन पूरा गरेको छ ।
उता, नेपाली पक्षले कोसी गाउँपालिका–८ बाट बिजोर नम्बरका १ सय ३३ वटा स्तम्भको मर्मत तथा रंगरोगन प्रारम्भ गरेको छ ।
थापाका अनुसार नेपाली पक्षले यी सबै स्तम्भको मर्मत कार्य तीन साताभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।






प्रतिक्रिया राख्नुहोस्