जाँचबुझ आयोगमा बयान दिन जानुपर्ने कुनै कानूनी बाध्यता छैन: अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ औँ महाधिवेशनमा आफ्नो उम्मेदवारी कायमै रहेको बताउनु भएको छ ।
पार्टीको सहमति रहेमा वा प्रतिनिधिले चुनेमा आफु अध्यक्ष हुने उहाँको भनाइ छ ।
प्रेस चौतारी नेपालले आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनले यथास्थितिमा केही परिवर्तन दिने तर नेतृत्वमा क्रमशः पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कुनै पूर्वशर्त राखेर आफूले कुनै दबाबमा काम नगर्ने स्पष्ट गर्दै बाहिर प्रस्ताव दिनुभन्दा पार्टीभित्र बसेर सहमतिको लागि पहल गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेतालाई आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले संसद् पुनःस्थापनालगायत राष्ट्रिय राजनीतिका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा संवाद भएको जनाउँदै उहाँले एमाले संसद् पुनःस्थापनाको पक्षमा रहेको प्रष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफूले बयान दिन जानुपर्ने कानुनी व्यवस्था नभएको जिकिर गर्नुभयो ।
एमालेको महाधिवेशन यही मङ्सिर २७ गतदेखि २९ गतेसम्म हुँदैछ ।।






प्रतिक्रिया राख्नुहोस्