मकवानपुरगढी गाउँपालिकाले ६ रैथाने बालीको समर्थन मूल्य तोक्यो

मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ६ प्रकारका रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

विगतमा पालिकाभित्र उत्पादन हुने ४ प्रकारका बालिमा मात्रै समर्थन मूल्य निर्धारण गरिएकोमा यस वर्ष कोसेबाली अन्तर्गत सेतो सिमी र कालो सिमी पनि थप गरिएपछि समर्था मूल्य पाउने बालीको संख्या ६ पुगेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि कोदो र धानकोदो प्रतिकिलो ६० रुपैयाँ, तिते फापर ९० रुपैयाँ, मिठे फापर एक सय ५ रुपैयाँ, जुनेलो ८४ रुपैयाँ तोकिएको कृषि शाखा प्रमुख गोपाल लम्सालले जानकारी दिनुभयो । यस वर्ष पनि गत आर्थिक वर्षमै तोकिएको दररेट कायम राखिएको हो । यस्तै, छ । सेतो सिमी एक सय २० रुपैयाँ र कालो सिमी एक सय ३० रुपैयाँ समर्थन मूल्य तोकिएको छ ।

रैथाने बाली प्रवद्र्धनका लागि पालिकाले यस वर्ष पनि कृषक तथा सहकारीलाई अनुदान व्यवस्था निरन्तरता दिएको छ । कोदो–फापर सहकारीमार्फत बिक्री गर्ने किसानलाई प्रतिकिलो ६ रुपैयाँ र बजार व्यवस्थापन गर्ने सहकारीलाई प्रतिकिलो ४ रुपैयाँ अनुदान उपलब्ध गराइनेछ ।

रैथाने बाली खरिद–बिक्री अनुदान कार्यक्रम अन्तर्गत गत वर्ष करिब २ सय घरधुरी लाभान्वित भएका थिए । यस वर्ष किसान संख्या थपिएको पालिकाले जनाएको छ । गाउँपालिकाले ४ नम्बर वडा  स्थित अपांग तथा विपन्न कृषि सहकारी संस्था लिमिटेड मार्फत किसानले उत्पादन गरेका कोदो लगायतका रैथाने बाली संरकलन गर्ने गरेको छ । संकलित कोदोबाट पिठो उत्पादन गरी कालीखोला ब्रान्डमा लेबलिङ र प्याकेजिङ गरी बजारमा वितरण गरिँदै आएको छ ।

कालीखोला ब्रान्डका पिठोका एक, दुई र पाँच किलोका प्याकेट अहिले बजारमा उपलब्ध छन् ।  पहिले उचित मूल्य नपाएर निराश भएका किसान समर्थन मूल्य पाएपछि अहिले उत्साहित भएका छन् ।

कोदोपछि फापर, कागुनो जस्ता रैथाने खाद्यवस्तुलाई पनि ब्रान्डिङ गरी बजारमा लैजाने तयारी भइरहेको पालिकाले जनाएको छ ।  आगामी वर्ष कागुनोको पनि समर्थन मूल्य निर्धारण गर्ने योजना पालिकाले लिएको छ ।

रैथाने बालीलाई नयाँ पुस्तासँग जोड्न पालिकामा रहेका सामुदायिक विद्यालयहरूमा हप्तामा एक दिन रैथाने खाजाको व्यवस्था मिलाइएको छ ।

साथै कोदोबाट व्यावसायिक रूपमा वाइन उत्पादन गर्ने सम्भावनाका बारेमा पनि अध्ययन भइरहेको कृषि शाखाले जनाएको छ । गत आर्थिक वर्षमा ७ सय ५० हेक्टरमा कोदो खेती गरिएको थियो । सो क्षेत्रबाट एक हजार एक सय २५ मेट्रिक टन कोदो उत्पादन भएको पालिकाले जनाएको छ ।

यस्तै ६० हेक्टरमा फापर खेती गरिँदा ७८ मेट्रिक टन उत्पादन भएको छ ।विशेषगरी वडा नम्बर १, २, ४, ७ र ८ मा रैथाने बालीको उत्पादन बढी हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.