सञ्चारमन्त्री खरेलद्वारा दिवङ्गत पत्रकार रजकको परिवारसँग छलफल

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारद्वारा हालै सहिद घोषणा गरिएका दिवङ्गत पत्रकार सुरेश रजकको परिवारसँग छलफल गर्नुभएको छ ।

उहाँले आज तहाचलस्थित पत्रकार रजकको घरमा पुगेर परिवारसँग भेटघाट र छलफल गर्नुभएको हो । त्यस अवसरमा उहाँले रजकको शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै दिवङ्गत पत्रकार रजक सबै नेपालीबीच अमर रहने बताउनुभयो ।

पत्रकार रजकले सञ्चार क्षेत्रमार्फत समाजको उत्थान र नागरिकलाई सुसूचित गर्दागर्दै ज्यानै बलिदान दिएकाले उच्च सम्मान गर्दै सहिद घोषणा गरिएको र उहाँको योगदान जनताले कहिल्यै बिर्सन नसक्ने मन्त्री खरेलको भनाइ थियो । उहाँले सरकार सधँै पत्रकार रजकका परिवारको सहयोगका लागि तयार रहने बताउनुभयो ।

“पत्रकार रजकले सञ्चार क्षेत्रमार्फत समाजको उत्थान र नागरिकलाई सुसूचित गर्न खेलेको भूमिकाको प्रशंसनीय छ । निष्ठावान् पत्रकारको निधनले सञ्चार जगतमा ठूलो क्षति पुगेको छ । रजकले देखाएको व्यावसायिक भूमिका सधैँ स्मरणीय रहने छ”, मन्त्री खरेलले भन्नुभयो ।

सुरेशका दाइ रमेश रजकले सरकारले भाइलाई सहिद घोषाणा गरेर सरकारले न्याय दिएको बताउनुभयो । उहाँले करिब सात महिनासम्म ताकेता गर्दापनि विगतको सरकारले कुनै सुनुवाइ नगरेको भन्दै वर्तमान सरकारले सहिद घोषणा गरेर परिवारलाई सान्त्वना मिलेको भन्दै आभार व्यक्त गर्नुभयो ।

रजकका आफन्त पुरुषोत्तम मगियाले पनि भन्नुभयो, “सरकारको निर्णय स्वागतयोग्य छ, सञ्चारमन्त्री स्वयम्ले पेसागत जिम्मेवारी निर्वाहका क्रममा मृत्यु भएका पत्रकार सुरेशलाई सहिद घोषणा गर्ने कार्यलाई चासो लिएर पहलकदमी गरिदिनुभयो । उहाँको यस कार्यप्रति रजकको परिवार र हामी सबै आभारी छौँ ।”

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजतन्त्र पक्षरको प्रदर्शनको क्रममा एभिन्यूज टेलिभिजनमा कार्यरत भिडियो पत्रकार रजकको मृत्यु भएको थियो । प्रदर्शनकारीले आगजनी गरेको घरमा दृश्य कैद गर्ने क्रममा उहाँको जलेर मृत्युभएको थियो ।

मृत्यु रजकलाई सहिद घोषणा गर्न परिवारले माग गर्दै आएको थियो । मन्त्री खरेलको पहलमा दिवङ्गत पत्रकार रजकलाई यही मङ्सिर २२ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरेको थियो । यसका साथै उहाँकी श्रीमतीलाई रोजगारीको व्यवस्थासमेत गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.