त्रिशूलीमा गरियो विज्ञान प्रदर्शनी

–क्षेत्र पाल प्रथम

नुवाकोट – विद्यार्थीहरूको प्रविधि परीक्षणको उद्देश्यले नुवाकोटको त्रिशूलीमा विज्ञान प्रदर्शनी गरिएको छ । स्थानीय तहमा रहका विद्यालयहरूको विज्ञान प्रदर्शनीमा सहभागिता रहेको थियो ।

शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटको आयोजनामा नुवाकोट जिल्ला स्तरीय माविहरूको विज्ञान प्रदर्शनीमा सम्पन्न भएको छ । त्रिभुवन त्रिशूली मावि परिसरमा सम्पन्न एक दिने विज्ञान प्रदर्शनीमा लिखु गाउँपालिका ४ चौघडाको क्षेत्र पाल माविका विद्यार्थीहरूले निर्माण गरेका सामग्री प्रथम भएको छ ।

पञ्चकन्या गापामा रहेको इन्द्रायणी प्राविधिक मावि द्धितिय र देउराली मावि तृतीय भएका छन् । गाउँपालिकाभित्र छनोट भएका विद्यालयहरूको विज्ञान प्रदर्शनी गरिएको थियो । नुवाकोटका १२ पालिकामध्ये ११ पालिकाबाट छनोट भएका ११ विद्यालयका विद्यार्थीहरू विज्ञान प्रदर्शनीमा सहभागी भएका थिए ।

उक्त कार्यक्रममा विद्यार्थीहरूले निर्माण तथा तयार गरेका विज्ञान सामाग्रीहरू प्रदर्शनीमा राखिएको थियो । त्रिभुवन त्रिशूली माविले भने खानाका परिकारसहित ३३ प्रकारका स्टलहरू राखेको थियो ।

यसअघि उक्त कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले विद्यार्थीहरूले निर्माण गरेका सामग्रीहरू हेर्दा उनीहरू प्रविधिमा उत्साहित भएको आफूले पाएको बताउनुभयो । उहाँले अव को शिक्षा आधुनिक, प्रविधिमैत्री र व्यवहारिक हुनुपर्ने बताउनुभयो ।

उहाँले विद्यार्थीहरूले यसरी नै वैज्ञानिक सामग्री उत्पादन गरी कला प्रस्तुत गदै जाने हो भने वैज्ञानिक बन्न सकिने सुझाव समेत दिनुभयो । प्रमुख ठकुरीले सामुदायिक विद्यालयका विद्यार्थीहरूको यस प्रकारको उत्साह हेर्दा शिक्षा क्षेत्रमा नेपालले निकै फड्को मारिसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले विद्यार्थीहरूले गरेको वैज्ञानिक सिर्जना खेर नजाने बताउनुभयो । प्रविधिमैत्री शिक्षाका लागि विदुर नपा सदैव क्रियाशील रहेको उहाँको भनाई छ ।

विज्ञान प्रदर्शनीमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । मावि स्तरीय विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा रहेको नव प्रवर्तनशील सोच, प्राविधिक क्षमता र प्रयोगात्मक शिक्षाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको आयोजक शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटको भनाई छ ।

प्रदर्शनीमा विविध प्रविधि र विज्ञान प्रयोगहरू देखाइनुका साथै  विद्यार्थीद्वारा तयार गरिएको खाजा नास्ता स्टल आकर्षक बनेको थियो  ।  कक्षा ५ देखि माथिल्ला कक्षाका विद्यार्थीहरूले आफ्नै सिप, सोच र श्रमबाट तयार गरेका स्वादिलो परिकारहरूले प्रदर्शनीलाई फुड फेस्टिभलको झल्को दिएको थियो  ।

स्वच्छता, पोषण र परिकारको विविधतासँगै शुल्कसमेत सहज हुँदा अभिभावक, शिक्षक र विभिन्न विद्यालयबाट आएका विद्यार्थी सबैको ध्यान खाजा नास्ता स्टलतर्फ केन्द्रित भएको थियो । यसले शिक्षामा व्यावसायिकता, सिर्जनात्मकता र आत्मनिर्भरताको अभ्यासलाई प्रोत्साहन दिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.