धनकुटाका प्रतिनिधि सभा निर्वाचनका लागि महामन्त्री थापाको नाम सिफारिस

धनकुटा- नेपाली काँग्रेस धनकुटाले महामन्त्री गगनकुमार थापालाई उम्मेदवार बन्न धनकुटाबाट सिफारिस गरेको छ। नेपाली काँग्रेस धनकुटाको जिल्ला कार्यसमिति बैठकले थापाको नामलाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिफारिस गरेको हो। धनकुटामा प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको छ। यसअघिका चुनावमा थापा काठमाडौँ क्षेत्र नं ४ बाट निर्वाचन लड्दै आउनु भएको छ । थापाको उम्मेदवारीबारे धनकुटा सिफारिस मात्रै गरेको हो भने अन्तिम निर्णय भने केन्द्रीय समिति गर्ने काँग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताउनु भयो। धनकुटाबाट सूर्यबहादुर थापा र नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री बनिसकेका र वर्तमान प्रधानमन्त्री सुशीला कार्की पनि धनकुटाकै भएका कारण धनकुटाबाट जिताएर प्रधानमन्त्री बनाउन गगन थापाको नाम सिफारिस गरिएको सचिव राईले बताउनु भयो।
काँग्रेस धनकुटाले पार्टीको सङ्गठन विस्तार र कठिन किल्ला तोड्ने रणनीतिको रूपमा थापाको नाम सिफारिस गरेको बताइएको छ। धनकुटामा यसअघिका प्रतिनिधिसभा निर्वाचनहरूमा नेकपा (एमाले) लगातार जित्दै आएको छ भने २०६४ सालमा माओवादीले जितेको थियो। यस्तै केही निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका सूर्यबहादुर थापा र राप्रपाबाट उम्मेदवार बनेका सुनिलबहादुर थापाले जित्नुभएको थियो। सूर्यबहादुरको निधन भइसकेको छ भने सुनिलबहादुर हाल काँग्रेसबाट राजनीति गर्दै आउनु भएको छ। धनकुटामा हालसम्म प्रतिनिधिसभा तथा प्रदेशसभामा नेपाली काँग्रेसले पराजय भोग्दै आएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि महामन्त्री थापासहित नेपाली काँग्रेस धनकुटा जिल्ला सभापति दिनेश राई तथा पूर्व सभापतिहरू हरी कुमार राई र मनोहर नारायण श्रेष्ठ नाम सिफारिस गरेको जनाएको छ। जिल्ला सभापति राईको नाम दोस्रो नम्बरमा समावेश गरिएको छ।
समानुपातिकतर्फ कमोट फाँगो, करुण कटुवाल, टिकादेवी भण्डारी, अम्बिका धमला, सिता प्रधान र मिना राईको नाम सिफारिस गरेको काँग्रेस धनकुटाले जनाएको छ। यस्तै धनकुटा काँग्रेसले राष्ट्रिय सभाका लागि सुनिलबहादुर थापा, आनन्द सन्तोषी राई, अजित नारायण सिंह थापा, लीला सुब्बा र अञ्जना ताम्लीको नाम सिफारिस गरेको छ भने दलिततर्फ रवीन्द्र नेपाली, अम्बिका परियार र इन्दु दर्नालको नाम सिफारिस गरेको नेपाली काँग्रेस धनकुटाका सचिव राईले जानकारी दिनुभयो।






प्रतिक्रिया राख्नुहोस्