अब भारु २ सय तथा ५ सय दरका नोट पनि भारतबाट ल्याउन र लैजान पाइने

काठमाडौँ- सरकारले सन २०१६ नोभेम्वर ९ देखी निस्काशन भएका भारतिय रुपैया २ सय तथा ५ सय दरका नोट नेपाली वा भारतीय नागरिकले नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले दुबै देशका नागरिकले प्रतिव्यक्ति भारु २५ हजार सम्म ल्याँउन वा लैजान पाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिनुभयो । यस्तै सरकरले दलहरुसंग वार्ता र छलफल गर्न ३ सदस्यीय उच्चस्तरिय सम्वाद समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिंन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री र प्रधनमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको ३ सदस्यीय उच्चस्तरिय सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो ।
यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्घाखाचीका डा प्रकाश कुमार श्रेष्ठ र सदस्यमा काठमाण्डौकी प्रा डा सुनीती श्रेष्ठहाडालाई नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
त्यसैगरी प्रचलित कानुनमा व्यवस्था भएकोमा वाहेक सेवा प्रवाहको प्रकृयामा कागजातको आधिकारिकताको लागि आय टिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्था हटाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्