सुविधाजनकभन्दा पनि ,सास्तीको कारण बन्दै राजमार्ग

स्याङ्जा – देशकै पुराना तथा रणनीतिक महत्त्व बोकेका राजमार्गमध्ये सिद्धार्थ राजमार्ग एक हो । तराईलाई हिमालसँग जोड्ने यो राजमार्ग सुनौलीदेखि पोखरासम्म रहेको छ । यही मार्ग हुँदै दैनिक सयौँको संख्यामा सवारी साधन आवत जावत गर्दछन्,भने भारतीय तथा स्वदेशी पर्यटक मुक्तिनाथ दर्शनका लागि यही मार्गको प्रयोग गर्दछन् । तर पछिल्लो समय यही ऐतिहासिक राजमार्ग यात्रुका लागि सुविधाजनकभन्दा बढी सास्तीको कारण बन्दै गएको छ ।
राजमार्गका विभिन्न खण्डमा देखिएका खाल्टा–खुल्टिले यात्रु मात्र होइन, सवारी चालकलाई समेत हैरान बनाएको छ । डेढ वर्षअघि सडक डिभिजन कार्यालय पोखराले करिब १३ करोड रुपैयाँ खर्च गरेर मर्मत गरे पनि अहिले पुनः दर्जनौँ स्थानमा खाल्टा परेका छन्। दुई प्रदेशको सिमानामा पर्ने राम्दिदेखी फेदी खोला कुबिण्डेसम्मको करिब ७९ किलोमिटर सडक खण्डमा मर्मत नहुँदा लामो तथा छोटो दूरीका यात्रुले सहज यात्रा गर्न पाएका छैनन्।
जिल्लामा हुने सवारी दुर्घटनाको प्रमुख कारण नै सडकमा रहेका खाल्टा–खुल्टि भएको सरोकारवालाको भनाइ छ । वर्षौँदेखि दिगो मर्मतको अभाव र अत्यधिक सवारी चापका कारण सडक बिग्रँदै जानु सामान्यजस्तै बनेको छ । यस्तो अवस्थामा सडक मर्मतको जिम्मेवारी बोकेको सडक डिभिजन कार्यालय नै मौन देखिनु दुःखद भएको सवारी चालक नेत्र पराजुुली बताउनुभयो ।
सिद्धार्थ राजमार्ग केवल यातायातको साधन मात्र नभई पर्यटन, व्यापार र राष्ट्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको मार्ग भएकाले सडकको दिगो सुधारका लागि सडक विभाग, प्रदेश सरकार र सङ्घीय सरकारसँग नागरिकले माग गरेका छन् ।






प्रतिक्रिया राख्नुहोस्