बागलुङमा निर्वाचनको तयारी

बागलुङ- बागलुङमा आगामी फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी एक मतदान स्थल थप गरिएको छ भने दुई मतदान स्थल स्थानान्तरण गरिएको छ । सहज र सुरक्षित रूपमा सम्पन्न गर्न एक वटा मतदान स्थल थपिएको छ भने दुई वटा मतदान स्थल सारिएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार मतदाताको बढ्दो सङ्ख्या, भौगोलिक चुनौती र पिछडिएका बस्तीहरूमा पहुँच सहज बनाउन नयाँ मतदान स्थल थपिएको तथा मतदान स्थल सारिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालले बताउनुभयो

जसमा थपिएको मतदान स्थलमा बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघाबाट आंशिक मतदाता सारेर मनेवा आधारभूत विद्यालयलाई मतदान स्थलका रूपमा थप गर्न सिफारिस गरिएको छ ।

रिघामा हाल रहेका दुई हजार ८०० मतदातामध्ये एक हजार १९० मतदातालाई मनेवा आविमा ल्याएर मतदान स्थलको रूपमा कायम गरिएको रिजालको भनाई छ ।

यस्तै बागलुङ नगरपालिकाको एक मतदान स्थल र बडिगाड गाउँपालिकाको एक मतदान स्थललाई पूर्वाधारको अभाव तथा भौगोलिक चुनौतीका कारण स्थानान्तरण गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–८ सिगानाको मतदान स्थल र बडिगाड गाउँपालिका–१० को मतदान स्थललाई पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको छ ।

बागलुङ नगरपालिका–८ सिगाना वडा कार्यालयको मतदान केन्द्रलाई सिगाना स्वास्थ्य चौकीमा सारिएको छ । वडा कार्यालयमा मतदान स्थल साँघुरो भएकाले सारिएको हो ।

थपिएको मतदान स्थल स्वीकृत भएमा यस अघिको निर्वाचनमा १०६ मतदान स्थल रहेकोमा बागलुङमा एक थपेर १०७ मतदान स्थल पुग्नेछ । गत निर्वाचनमा २३१ मतदान केन्द्र थिए भने बढेको मतदाता सङ्ख्याको आधारमा आयोगले केन्द्र समेत थपेर पठाउनेछ । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको थियो । बागलुङ जिल्लामा यसभन्दा अगाडि एक लाख ८९ हजार १७३ जना मतदाता रहेकोमा अहिले पाँच हजार ९९३ मतदाता थपिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.