गुल्मीमा विपद् व्यवस्थापन तथा पूर्व तयारीबारे छलफल

गुल्मी –  गुल्मी जिल्लामा विपद् व्यवस्थापन तथा पूर्व तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न संघ संस्थासँग विस्तृत छलफल गरिएको छ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको बैठकमा जिल्लामा क्रियाशील गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा विभिन्न गैरसरकारी सङ्घ संस्थाहरूले हालसम्म विपद् जोखिम न्यूनीकरण, पूर्व तयारी, सचेतना, उद्धार तथा राहत वितरणका क्षेत्रमा आफूहरूले गर्दै आएका कामहरूको प्रस्तुति दिएका थिए। सहभागी संस्थाहरूले बाढी, पहिरो, आगलागी, भूकम्पजस्ता सम्भावित विपद्‌को जोखिमलाई मध्यनजर गर्दै जिल्लामा गरिएको तयारी, सिकाइ तथा व्यवहारिक अनुभवहरू राखेका गरेका थिए।

उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था महासङ्घ, स्वयंसेवी रक्तदाता समाज, रोटरी क्लब, लायन्स क्लब, नेपाल पत्रकार महासङ्घ लगायतका सङ्घ संस्थाका प्रतिनिधिहरूले जिल्लाको विपद् व्यवस्थापनसँग सम्बन्धित पछिल्ला अव्यवस्था, स्रोतसाधनको अभाव, तालिम प्राप्त जनशक्तिको कमी तथा समन्वयको कमजोर अवस्थाबारे जानकारी गराएका थिए ।

उहाँहरूले विपद् पूर्व तयारीमा स्थानीय तह, सुरक्षा निकाय र सङ्घ संस्थाबिच समन्वय आवश्यक रहेको सुझाव दिनुभयो।

छलफलका क्रममा विपद् आउनुअघि नै जोखिमयुक्त बस्तीहरूको पहिचान, पूर्व सूचना प्रणालीको सुदृढीकरण, स्वयंसेवक परिचालन, आपत्कालीन राहत सामग्रीको व्यवस्थापन तथा सञ्चार प्रणालीलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो ।

साथै विपद् पश्चात् राहत वितरणमा पारदर्शिता र छरितोपन कायम गर्नुपर्ने विषय पनि उठान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले विपद् व्यवस्थापन एक्लै सरकारको दायित्व नभई सबै सरोकारवाला निकायहरूको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

उहाँले जिल्लामा सम्भावित विपद्‌को सामना गर्न पूर्व तयारीलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने तथा सङ्घ संस्थासँगको सहकार्य र समन्वयलाई थप मजबुत बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विपद् मा राहत वितरण गर्दा स्थानीय प्रशासन तथा स्थानीय सरकारको समन्वयमा गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.