मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

काठमाडौँ – मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने हुनु भएको छ ।
मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै मधेश प्रदेशसभा सचिवालयलाई पत्राचार गर्नुभएको थियो ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार नेपालको संविधानको धारा १६८ अन्तर्गतको व्यवस्था बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि बुधबार प्रदेशसभामा पत्र पठाइएको हो ।
संविधानले मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।
मंसिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका यादव ६ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।
उहाँलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो ।
नियुक्तिपछि संविधानिक प्रावधानअनुसार तोकिएको समयसीमाभित्र विश्वासको मत लिनुपर्ने भएकाले मुख्यमन्त्री यादवले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लाग्नु भएको हो । प्रदेशसभा सचिवालयले विश्वासको मतसम्बन्धी कार्यसूची तयारी र आवश्यक व्यवस्थापन गरिरहेको जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्