धनकुटामा धान उत्पादन घट्यो

धनकुटा- धनकुटामा यस वर्ष धान उत्पादन घटेको छ। गत वर्षको तुलनामा धनकुटामा यस वर्ष धान उत्पादन २३ प्रतिशतले घटेको हो।
धनकुटामा गत वर्ष ४ हजार ९ सय ३८ दशमलव ८९ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ८ सय ३२ दशमलव ७ हेक्टर क्षेत्रफलबाट २० हजार १ सय ५२ मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष धनकुटामा ४ हजार ७ सय १९ हेक्टर उत्पादनशील क्षेत्रबाट १५ हजार ३ सय ३९ दशमलव २ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ।
धनकुटामा गत वर्ष भन्दा यस वर्ष ४ हजार ८ सय १३ मेट्रिक टन कम धान उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राना मगरले जानकारी दिनुभयो। धनकुटा यस वर्ष धान उत्पादनशील क्षेत्र पनि घटेको छ। धनकुटा गत वर्षको भन्दा यस वर्ष १ सय १३ हेक्टर कम क्षेत्रमा धान खेती गरिएको थियो।
धनकुटामा अधिकांश धान खेत आकाशे पानी भरमा हुने भएकाले रोप्ने बेलामा खडेरी परेर समयमा धान लगाउन नपाउनु, धान लगाइसके पछि अविरल वर्षा र हावाहुरीले क्षति पुर्याउँदा उत्पादनमा कमी भएको ज्ञान केन्द्रले जनाएको छ। यस्तै जङ्गली जनावर आतङ्कका कारण तथा बसाइसराइका कारण धान खेती गर्ने क्षेत्रफल कम हुँदै गएको बताइएको छ।






प्रतिक्रिया राख्नुहोस्