लुम्बिनी प्रदेश: नवप्रवर्तन साझेदारी कार्यक्रम कालागि अवधारणा पेस गर्न आह्वान

दाङ – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३\०८४ कालागि नवप्रवर्तन साझेदारी परियोजना सञ्चालन कालागि अवधारणा पत्र पेस गर्न आह्वान गरेको छ । प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको प्रादेशिक कार्यक्रम सहयोग इकाईमार्फत अवधारणा पत्र पेस गर्न स्थानीय तहलाई आह्वान गरिएको हो ।
प्रदेश सरकारले स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहमा नवीन अभ्यासको विकास, सुशासन प्रवर्द्धन र नागरिकमैत्री प्रशासन निर्माणलाई लक्ष्य गर्दै नवप्रवर्तन साझेदारी परियोजनालाई महत्त्व दिएको छ । स्थानीय तहमा देखिएका समस्या समाधानका लागि नयाँ सोच, प्रविधि र कार्यविधिको प्रयोगमार्फत विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्य प्रदेश सरकारको रहेको छ ।
यसअघि पनि लुम्बिनी प्रदेश सरकारले विभिन्न स्थानीय तहसँग साझेदारी गरी स्थानीय शासन सुदृढीकरण, क्षमता विकास, योजना कार्यान्वयन, सेवा प्रवाह सुधार तथा जबाफदेहितासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । ती साझेदारी कार्यक्रमबाट स्थानीय तहमा सकारात्मक नतिजा देखिएको र नवप्रवर्तनलाई व्यवहारमा उतार्न सकिने आधार तयार भएको प्रदेश सरकारको निष्कर्ष छ ।
सोही अनुभवका आधारमा प्रदेश सरकारले यस पटक नवप्रवर्तन साझेदारी परियोजनालाई अझ व्यवस्थित र परिणाममुखी बनाउन कार्यविधि, २०८२ बमोजिम अवधारणा पत्र आह्वान गरेको हो । यस कार्यक्रमअन्तर्गत यसअघि प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम, सहयोग कार्यक्रम वा मुख्यमन्त्री कार्यालयबाट नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन वा कार्यान्वयन नगरेका लुम्बिनी प्रदेशभित्रका स्थानीय तहहरू सहभागी हुन सक्नेछन् ।
प्रदेश सरकारका अनुसार नवप्रवर्तन साझेदारी परियोजनाले स्थानीय तहमा नीति, योजना र सेवा प्रवाहमा नयाँ अभ्यासको विकास गर्दै समावेशी, उत्तरदायी र प्रभावकारी शासन प्रणाली निर्माणमा महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्