नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट

काठमाडौँ –  नेपाल पर्यटन बोर्डद्वारा भारतीय दूतावासको सहकार्यमा पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न भएको छ ।
काठमाडौँस्थित भारतीय राजदूतावास र पोखरा पर्यटन परिषद्सँगको संयुक्त आयोजनामा २०८२ पौष ३ गते आयोजित उक्त कार्यक्रम भारत र नेपालबिच विशेषतः उत्तर प्रदेश र गण्डकी प्रदेशबिचको पर्यटन सहकार्य विस्तारमा केन्द्रित रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

गण्डकी प्रदेशको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी वर्षसमेत मनाइएको थियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र मुक्तिनाथ क्षेत्रलाई केन्द्रमा राख्दै भारतसँग बढ्दो पर्यटन सहकार्यलाई स्वागतयोग्य कदमको रूपमा उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत  दीपकराज जोशीले नेपालको समग्र पर्यटनको अवस्था, प्राथमिक बजार तथा भावी रणनीतिबारे विस्तृत प्रस्तुति दिनुभयो । प्रमुख कार्यकारी अधिकृत जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमध्ये भारत सबैभन्दा ठुलो स्रोत मुलुक रहेको उल्लेख गर्दै भारत–नेपाल पर्यटन सहकार्यलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले बोर्डले अघि सारेका पहलहरूको चर्चा गर्नुभयो । धार्मिक, सांस्कृतिक, साहसिक र प्रकृतिमुखी पर्यटनमार्फत दुवै देश लाभान्वित हुनसक्ने उहाँको भनाइ थियो ।

भारतीय राजदूतावास नियोग उप–प्रमुख डा। राकेश पाण्डेले कनेक्टिभिटीमा आएको सुधारले अन्तर्देशीय पर्यटनलाई नयाँ गति दिएको उल्लेख गर्दै नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक पर्यटन परि पथ(सर्किट) हरूको संयुक्त प्रवर्द्धनमा दुवै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले सीमा क्षेत्र केन्द्रित पर्यटनलाई व्यवस्थित रूपमा अघि बढाउन समन्वय आवश्यक रहेको धारणासमेत व्यक्त गर्नुभयो ।

यस अवसरमा उत्तर प्रदेश पर्यटनका सह निर्देशक दिनेश कुमारले उत्तर प्रदेशका प्रमुख पर्यटन परिथपहरूबारे प्रस्तुति दिनुभयो । आगामी माघ मेलालाई विशेष आकर्षणका रूपमा प्रस्तुत गर्नुका साथै उहाँले उत्तर प्रदेशमा पर्यटन नीतिको कार्यान्वयनमा अपनाइएका उत्कृष्ट अभ्यासहरूबारे जानकारी गराउनु भयो।

कार्यक्रम अन्तर्गत आयोजित बीटुबी सत्रमा भारतबाट करिब १० जना र नेपालबाट ६० जना पर्यटन व्यवसायी तथा टुर अपरेटरहरूको सहभागिता रहेको थियो । छलफलमा स्थल मार्गबाट हुने अन्तर्देशीय पर्यटन प्रवर्द्धन, बौद्ध परि पथ, वन्यजन्तु पर्यटन, साहसिक तथा आध्यात्मिक पर्यटन क्षेत्रमा सम्भावित सहकार्यका विषयमा केन्द्रित संवाद भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यसै कार्यक्रमको निरन्तरताका रूपमा नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को सहकार्यमा उत्तर प्रदेश राज्यका प्रतिनिधिमण्डलका लागि २०८२ मंसिर २९ देखि पौष २ गतेसम्म परिचयात्मक भ्रमण(फ्याम ट्रिप) को आयोजना गरिएको थियो । उक्त भ्रमणले पोखरा र आसपासका गन्तव्यहरूको प्रत्यक्ष अनुभवमार्फत पर्यटन सहकार्यलाई व्यवहारिक तहमा विस्तार गर्ने अपेक्षा गरिएको बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डले यस प्रकारका क्षेत्रीय र अन्तर्देशीय कार्यक्रमहरूले नेपाल–भारत पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.