बेताल र बेसुरमा होइन, हामी तालमा अगाडि बढ्नेछौँ: अध्यक्ष ओली
पार्टी भित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा गएर नपोख्न आग्रह

काठमाडौं- नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टी नीति विधि पद्तिभन्दा बाहिर नगइ पार्टीलाई अघि बढाउने बताउनु भएको छ ।
११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ निर्वाचित केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ पार्टी विधिपद्ति भित्रै रहेर जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो।
अध्यक्ष ओलीले एमालेको ११ औँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको बताउँदै एमालेको महाधिवेशन हरेक कोणबाट सफल महाधिवेशन भएको दाबी समेत गर्नुभयो।
पार्टी भित्र समय समयमा केही केही समस्या देखिएको बताउँदै उहाँले आगामी दिनमा त्यस्ता कमजोरीहरू प्रकट नहुन् भन्ने कामना गर्नुभयो । ‘हाम्रो एक आवाज हुनुपर्दछ, दोस्रो विधान महाधिवेशनले पास गरेको नीति अनुसार हामी अगाडि बढ्ने छौँ, बेतालमा बेसुरमा होइन, हामी तालमा अगाडि बढ्ने छौँ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

ओलीले असन्तुष्टि नेतृत्व समक्ष मौखिक वा लिखत रूपमा पेस गर्न उहाँले निर्देशन दिनुभयो । पार्टी भित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा गएर नपोख्न उहाँले आग्रह समेत गर्नुभयो ।
सामूहिक प्रयास र हितका विरुद्ध मेरो निजी कुरा भनेर चल्न नमिल्ने ओलीले भनाइ थियो ।
एमालेका विरुद्ध अनेक भ्रम फिँजाइएको बताउँदै उहाँले यस्ता कुराबाट प्रभावित नहुन नेताहरूलाई आग्रह गर्दै ओलीले अब एमाले भित्र कुनै गुट र प्यान नभएको बताउँदै उहाँले अब एमाले एक ढिक्का भएर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्