भार वहन सामग्री लैजान तमोर नदिमा अन्डर पास

धनकुटा- सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाले भार वहन समान लैजान धनकुटाको मुलघाटमा अन्डर पास निर्माणको भइरहेको छ। अरुण तेस्रो आयोजनाको निर्माणका लागि भारी सामग्री पुलबाट पार गर्न जोखिम भएकाले अन्डर पास निर्माणको काम भइरहेको हो। धनकुटा नगरपालिका–९, मूल घाट स्थित तमोर नदीमा आयोजनाले करिब ६० मिटर लामो अन्डर पास बनाउने काम धमाधम गरिरहेको छ। कोसी राजमार्गमा पर्ने धरान धनकुटा सडक खण्ड अन्तरगत मूल घाटमा तमोर नदीमाथि २ सय मिटर लामो पक्की पुल रहेको छ। २०४० सालमा निर्माण पुलको अधिकतम भार वहन क्षमता ७० टन मात्रै रहेको छ। निर्माणाधीन आयोजनाका लागि ट्रान्सफर्मर, टर् बाइन लगायतका भारी उपकरण सहित एउटा ट्रकमा १ सय ४० टनसम्मका १ सय ५० वटा ट्रक आउने भएको आयोजनाका डीजीएम पङ्कज आनन्दले बताउनु भयो।
सडक विभागबाट स्वीकृति लिई र नेपाल सरकारको अनुमति पाएपछि अन्डर पास बनाउन सुरु गरिएको आयोजनाले जनाएको छ। बढी तौल भएका भार वहन सामग्री लोड गरिएका ट्रक पुलबाट तार्दा पुलमा क्षति पुग्ने भएकाले अन्डर पास निर्माण थालिएको हो। हिउँदको समय भएकाले तमोर नदीमा पानीको सतह कम भएकाले पानीको सतह बढ्नुअघि नै भारी सामग्री ओसारिसक्ने तयारी रहेको आयोजनाले जनाएको छ।
आयोजनाका भार वहन सामग्री ओसार्दा पुलमा क्षति पुग्ने भन्दै अन्डर पास बनाइएता पनि सडकको भार वहन क्षमता नपुग्ने हुँदा समस्या हुने भएको छ। धरान–धनकुटा सडकको अधिकतम भार वहन क्षमता करिब ४० टन मात्रै रहेको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्रप्रसाद साहले जानकारी दिनुभयो। सडक क्षमताका कारणले गर्दा ४० टन भन्दा बढी भारका मालवाहक सवारीसाधन सञ्चालन गर्न नपाइने सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ। डीजीएम आनन्दका अनुसार परियोजना निर्माणका लागि राजमार्ग प्रयोग गरी सामग्री ओसारपसार गर्न नेपाल सरकारले स्वीकृति दिइसकेको छ।
राष्ट्रिय गौरवको आयोजना भएकाले सहमति मार्फत माथिबाटै सहजीकरण हुने धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो। राष्ट्रिय गौरवको आयोजना निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाले सामाग्री लैजान सहजीकरण गरिरहेको खड्काको भनाइ छ। लामो सवारीमा समान आउने भएकाले सडकमा क्षति नपुग्ने भए पनि धनकुटाको तमोर नदी र सङ्खुवासभाको सभा खोलामा रहेको पुलमा क्षमता नपुग्ने भएकाले अन्डर पास बनाउन लागिएको जानकारी पाएको उहाँको भनाइ छ। उहाँले कोसी राजमार्गले छोएका धनकुटाका सबै पालिकाहरूसँग समन्वय गरी भार वहन समान लैजान समन्वयकारी भूमिका खेलेको जानकारी दिनुभयो।






प्रतिक्रिया राख्नुहोस्