गृहमन्त्री अर्यालव्दारा केन्द्रीय कारागारसहित जिल्ला कारागारको स्थलगत निरीक्षण

नुवाकोट- गृहमन्त्री ओमप्रकाश अर्यालले शनिवार आकस्मिक रूपमा नुवाकोटको निरीक्षण गरेका छन् । उहाँले एकैदिन नुवाकोटको केन्द्रीय कारागार र जिल्ला कारागारको निरीक्षण भ्रमण गर्नुभयो।

नुवाकोटको विदुर नगरपालिका ६ चण्डी पोखरीमा रहेको केन्द्रीय कारागार र विदुर नपा १ ढुङ्गेमा रहेको जिल्ला कारागारको गृहमन्त्री अर्यालले स्थलगत निरीक्षण अवलोकन गर्नुभयो ।
दुवै कारागार पुगेर अर्यालले कारागारको अवस्थाका सम्बन्धमा जानकारी लिनुभयो । कारागारमा खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा सञ्चालनमा ल्याउने सरकारको निर्णयसंगै त्यसको अवस्थाको आफैँले जानकारी लिन गृहमन्त्री अर्याल आकस्मिक रूपमा नुवाकोट आउनुभएको हो।
उहाँले कारागारमा बालबिझ्याइँकर्तालाई राख्नका लागि सरकारले तयारी सुरु गर्ने बताउनुभयो । उहाँले सरकारको निर्णयलाई पुरा गर्न सकिने अवस्था रहेको स्थलगत अवलोकनका क्रममा बताउनुभयो ।
गृहमन्त्री अर्यालले पहिले चण्डीपोखरीस्थित केन्द्रीय कारागार, त्यसमा रहेको खाली ब्लक, त्यसपछि ढुंगेस्थित जिल्ला कारागारको खाली रहेको ब्लक र विदुरमा जिल्ला प्रशासन कार्यालयको निरीक्षण गर्नुभएको हो। उहाँले सरकार नतिजा दिने तरिकाले काम गरिरहेको र त्यसमा सरकारी संयन्त्रहरूले साथ दिइरहेकोसमेत बताउनुभयो ।
देश र जनताका लागि केहि गर्ने उद्देश्य सरकारले लिएको छ, सोही अनुसार आफू कारागारको अनुगमनमा आएको उहाँको भनाई छ ।
मन्त्रिपरिषद्को यहि पुस ३ गते बसेको बैठकले देशका विभिन्न बाल सुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका बालबिझ्याइँकर्तालाई राख्नका लागि नुवाकोटको चण्डी पोखरीमा रहेको केन्द्रीय कारागारको कुल चार वटा ब्लकमध्ये एउटा खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा परिणत गरी सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको थियो ।  अवलोकनका क्रममा मन्त्री अर्यालले अब बालबिज्याइँकर्तालाई यहाँ खाली गरिएको बाल सुधार गृहमा आवश्यक भौतिक तथा व्यवस्थापकीय सुधार गरी छिट्टै स्थानान्तरण गरिने जनाए ।
सो क्रममा मन्त्री अर्यालले कारागारमा रहेका कैदी बन्दी र थुनुवासँग केही बेर उनीहरूसँग कुरा गर्दै उनीहरूको गुनासा र समस्याबारे जानकारी समेत लिनुभएको थियो ।

१८ भन्दा माथिका वालविझ्याइकर्तालाई केन्द्रीय कारागार नुवाकोटको खाली ब्लकमा र १८ भन्दा कम उमेरका लागि ढुङ्गेमा रहेको जिल्ला कारागारको खाली भवनमा राख्ने तयारी रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । दुवैतिर  गरी करिब पाँच सय जना वालविझ्याइकर्तालाई राखिने प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभयो ।

गृहमन्त्री अर्यालले कैदीबन्दीको मानव अधिकारको जानकारी लिँदै कारागार भित्र हुने हरेक गतिविधि कानुनी र मानव अधिकारका दृष्टिकोणले मर्यादित हुनु पर्नेमा ख्याल गर्न कारागार प्रशासनलाई निर्देशन समेत दिनुभयो  ।
नुवाकोटको दुई स्थानमा स्थापना गरिने बाल सुधार गृहमा बढीमा पाँच सय  जना वालविझ्याइकर्तालाई सहज तरिकाले राख्न सकिने छ । नुवाकोटको तीन वटा ब्लकमा गत कार्तिक महिनाको विवरण अनुसार आठ सय ७३ जना कैदी बन्दी तथा थुनुवा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.