सर्वपक्षीय छलफलको तयारीमा निर्वाचन आयोग

काठमाडौँ – निर्वाचन आयोगले आज सर्वपक्षीय छलफलको आयोजना गर्ने भएको छ । निर्वाचनको तयारी, सुरक्षा, व्यवस्थापन, कानुन संशोधनलगायत विषयमा आयोगले सर्वपक्षीय छलफल गर्न लागेको हो ।

प्रधानमन्त्री सुशीला कार्की, राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोगलगायत सम्बद्ध पक्षबीचको सर्वपक्षीय छलफल तय गरिएको छ । निर्वाचन तयारीको पछिल्लो उपलब्धि र सरोकार भएका पक्षको धारणा बुझ्न छलफल गर्न लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगले यसअघि पनि सर्वपक्षीय छलफल गरेको छ । यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ ।

२०७८ को जनगणना अनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिमको जनसङ्ख्याको प्रतिशतका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसूची (१) लाई संशोधन गर्न सरकारले सिफारिस गरेको थियो ।

आयोगका प्रवक्ता भट्टराईले समानुपातिकतर्फ राजनीतिक दलले उम्मेदवार सिफारिस गर्दा पछिल्लो जनगणनाबमोजिम समावेशी समूहको प्रतिशत मिलाएर सिफारिस गर्नुपर्ने निर्णय आयोगले गरेको जानकारी दिनुभयो । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा २०७८ को जनगणनाअनुसार समावेशी समूहको प्रतिशत गर्नुपर्ने देखिएकाले अध्यादेश समेत जारी भएको छ ।

अध्यादेश अनुसार दलहरूले समावेशी प्रतिशतका आधारमा उम्मेदवारको बन्द सूची पेस गर्नुपर्नेछ । यसका लागि समानुपातिकतर्फ आवेदन दिएका राजनीतिक दलले यही पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने समयसीमा तोकिएको छ । यसअघि निर्वाचन आयोगले समावेशी आधार प्रतिशतका आधारमा उम्मेदवार सिफारिस गर्दा अपनाउनुपर्ने विधि र पद्धतिका सम्बन्धमा यही पुस ८ र ९ गते राजनीतिक दलका प्रतिनिधिलाई तालिम दिँने भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.