चितवनको इच्छाकामनामा नेपाली सेनाद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

चितवन – नेपाली सेनाको श्री नयाँ सबूज गणको आयोजनामा तथा इच्छाकामना गाउँपालिकाको समन्वय र कलेज अफ मेडिकल साइन्सेस (COMS) को प्राविधिक सहकार्यमा चितवनको इच्छाकामना गाउँपालिका–७, गर्दासमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले मिति २०८२ साल ०९ महिना ०५ गते श्री राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा उक्त शिविर सञ्चालन गरिएको हो।
स्वास्थ्य शिविरमा श्री मध्य पृतना हे.क्वा.का पृतनापति उपरथी श्री विष्णु कुमार खड्का, श्री नं. ७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी डा. श्री कमल बानियाँ (PhD), श्री नयाँ सबूज गणका गणपति प्रमुख सेनानी श्री दिनेश लामा तथा इच्छाकामना गाउँपालिकाका अध्यक्षलगायतको उपस्थिति रहेको थियो।
शिविरमा कलेज अफ मेडिकल साइन्सेस (COMS) का विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा जनरल फिजिसियन, छाला तथा यौन रोग, दन्त रोग, नाक–कान–घाँटी (ENT), स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नशा रोग, मधुमेह र बाल रोग सम्बन्धी निःशुल्क परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो।
यसका साथै बिरामीहरूको रोग पहिचानका लागि USG भिडियो एक्स–रे, ECG, मधुमेह तथा रक्तचाप परीक्षणजस्ता सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराइएको थियो। स्वास्थ्य परीक्षण पश्चात आवश्यकताअनुसार बिरामीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो।
दुर्गम भेगमा बसोबास गर्ने तथा आर्थिक अवस्था र स्वास्थ्य सचेतनाको अभावका कारण समयमै उपचार पाउन नसकेका स्थानीय नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको आयोजकले जनाएको छ। शिविरबाट इच्छाकामना गाउँपालिकाका महिला १३९ जना, बालबालिका ७४ जना र पुरुष ६२ जना गरी उल्लेख्य संख्यामा स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन्।
यस किसिमका मानवीय कार्यहरूले नागरिक–सैनिक सम्बन्ध सुदृढ गर्नुका साथै दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान, उपचार र स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको जनाइएको छ। नेपाली सेनाको यस्ता कार्यक्रमले सेना र नागरिकबीचको विश्वास र सहकार्यलाई थप मजबुत बनाउँदै लगेको छ।
शिविरलाई व्यवस्थित र प्रभावकारी बनाउन एनसीसी अल्मुनाई (NCC Alumni) का स्वयंसेवकहरूको उल्लेख्य योगदान रहेको थियो। साथै नयाँ सबूज गणको अगुवाइमा स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।






प्रतिक्रिया राख्नुहोस्