राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत कार्यालय स्थापना

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाचन अधिकृत पनि नियुक्त गरेको छ । आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा भीमराज प्रसाई, मधेशमा शुभनाथ पुरी, वाग्मतीमा गीता श्रेष्ठ, गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा प्रकाशराज पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिम प्रदेशमा भुवनसिंह थापालाई नियुक्त गरिएको छ । आगामी फागुन २० गतेदेखि रिक्त १९ पदमा निर्वाचन हुँदैछ ।
निर्वाचन कार्यक्रमअनुसा यही पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । सम्बन्धित मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।।






प्रतिक्रिया राख्नुहोस्