निर्वाचनको कार्यतालिकामा हेरफेर हुँदैन-निर्वाचन आयोग

फागुन २१ गते हुने निर्वाचनका लागि सबै प्रकारको वातावरण तयार भइसकेको भन्दै निर्वाचन आयोगले निर्वाचनको कार्यतालिकामा कुनै हेरफेर गर्न नसकिने जानकारी दिएको छ ।
आज निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको स्थापना गर्दै आयोगले निर्वाचनको धेरै काम अघि बढीसकेको भन्दै सवै वातावरण निर्वाचनमय बनेको जनाएको छ ।
निर्वाचनका लागि अनुकुल वातावरण बनिसकेको आयोगको ठम्याइ रहेको छ । सरकारका साथै राजनीतिक दलले समेत निर्वाचनको तयारी गरिरहेको भन्दै आयोगले सवै वातावरण निर्वाचनमय बनेको जनाएको छ । आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अब निर्वाचन हुन्छ कि हुदैन भनेर छलफल गर्न आवश्यक नै नरहेको बताउनुभयो ।
चुनावसंग सम्बन्धित सूचना दिनका लागि सूचना सम्प्रेषण तथा समन्वय केन्द्र समेत स्थापना गरेको जानकारी गराउदै उहाँले निर्वाचनसंग सम्बन्धित कुनैपनि कार्यतालिका हेरफेर नगर्ने बताउनुभयो ।
समानुपातिक निर्वाचनतर्फको कार्यतालिका हेरफेरका लागि आएको प्रस्तावमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोग निर्वाचनलाई सम्पन्न गर्नेतिर धेरै अघि बढिसकेको भन्दै कार्यक्रम संसोधन र परिवर्तन गर्ने पक्षमा आयोग नरहेको बताउनुभयो ।
आयोगले सामाजिक सञ्जाल तथा डिजिटल मिडियामा भ्रमपूर्ण र अफवाहपूर्ण तथा मिथ्या सूचना दिने, सूचनाहरुलाई तोडमोड गर्ने व्यक्ति र सस्थालाई कानून अनुसार तत्काल कारबाही गर्नेगरी सम्बन्धित निकायसंग समन्वयको काम भइरहेको जनाएको छ ।
सामाजिक सञ्जालका मातृ कम्पनी मेटा, टिकटक, एक्स लगाएतसंग समन्वय गरेर सामाजिक सञ्जालका गलत सूचना, अपव्याख्या, नकारात्मक टिप्पणी, झुटो साइट, एआइबाट सिर्जित डिप फेक कन्टेन्ट आदि हटाउन समेत तयारी गरिएको आयोगले जनाएको छ ।
आयोगले बिगतमा भन्दा यसपटक निर्वाचन आचारसंहितामा कडाइ गर्ने जनाएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आचारसंहिता उल्लंघन गरेको खण्डमा उम्मेद्वारी नै खारेज हुनसक्ने भएकोले तोकिए अनुसार नै आचारसंहिता पालना गर्न आग्रह गर्नुभयो
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा एक सय १४ वटा दलहरुले सहभागीताका लागि निवेदन दिएका छन् । यसअघि भएको प्रतिनिधि सभाको निर्वाचनमा ८७ दलहरुले भाग लिएका थिए । आयोगका अनुसार यसपालीको निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा १० लाख भन्दा धेरै मतदाताहरु थपिएका छन् ।।






प्रतिक्रिया राख्नुहोस्