खालिदा जियालाई राजकीय विदाइ

बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ अन्तिम विदाइ दिएको छ । राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिनुभएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गर्‍यो ।
प्रधानमन्त्रीका रूपमा सेवा गर्ने बङ्गलादेशकी पहिलो महिला रहनुभएकी खालिदा जियाको मङ्गलबार ८० वर्षको उमेरमा निधन भएको हो । सत्र करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली मुलुकमा उहाँको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा गहिरो शून्यता सिर्जना गरेको छ ।
अन्त्येष्टिका क्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । हजारौँ सुरक्षाकर्मीको उपस्थितिमा उहाँको पार्थिव शरीर राष्ट्रिय झण्डाले ढाकिएको गाडीमा राजधानीका मुख्य सडक हुँदै लगिएको थियो । सडकछेउ उभिएका सर्वसाधारणले मौन श्रद्धाञ्जलि अर्पण गरेका थिए । शोकमग्न शर्मिना सिराजले बेगम जियालाई महिला नेतृत्वको प्रेरणाका रूपमा स्मरण गर्नुभयो । दुई सन्तानकी आमाले बालिकाहरूको शिक्षाका लागि सुरु गरिएको स्टाइपेन्ड कार्यक्रमले ‘हाम्रा छोरीहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको’ बताउनुभयो ।
लामो समयदेखि खराब स्वास्थ्य र कारावासको पीडाका बाबजुद बेगम जियाले फेब्रुअरी १२ मा तय भएको निर्वाचनमा पार्टीको समर्थनमा सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको थियो । उक्त निर्वाचन गत वर्ष भएको जनआन्दोलनपछि शेख हसिनाको सत्ता पतनपछिको पहिलो मतदान हो ।
उहाँको नेतृत्वमा रहेको बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) लाई निर्वाचनमा अग्रस्थानमा देखिएको छ । सत्र वर्षको निर्वासनपछि हालै स्वदेश फर्कनुभएका उहाँका सुपुत्र तारिक रहमानलाई पार्टीले बहुमत पाए सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिएको छ ।
नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्दै विस्तृत राजकीय अन्त्येष्टि आयोजना गरेको हो । संसद् भवन बाहिर ठूलो भीड जम्मा भएको थियो, जहाँ निर्धारित समयमै अन्त्येष्टि प्रार्थना सम्पन्न गरियो । युनुसले बङ्गलादेशले ‘एक महान् संरक्षक गुमाएको’ प्रतिक्रिया दिनुभयो ।
बेगम खालिदा जियाको पार्थिव शरीर उहाँका दिवङ्गत पति, पूर्व राष्ट्रपति जियाउर रहमानसँगै दफन गरिनेछ । रहमानको सन् १९८१ मा हत्या भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.