निर्वाचन अघि नै फरार कैदी र लुटिएका हतियार नियन्त्रणमा लिन्छौँ: गृहमन्त्री अर्याल

मोरङ- गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा हराएका, लुटिएका हतियार र बन्दीगृहबाट फरार कैदीलाई आगामी फागुन २१ गते अगावै नियन्त्रणमा ल्याइसक्ने जानकारी दिनुभएको छ ।
गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा उहाँले फरार अधिकांश कैदीबन्दी सम्पर्कमा भइसकेको र बाँकीलाई समेत विशेष अभियान सञ्चालन गरी यथाशीघ्र नियन्त्रणमा ल्याइने बताउनुभयो ।
गृहमन्त्री अर्यालले राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औँल्याएको विषयप्रति सरकार संवेदनशील भएर काम गरिरहेको भन्दै दलसँगको वार्ता र संवादको समेतको विषयमा सरकार जिम्मेवार, संवेदनशील र त्यतिकै उत्तरदायी रहेको उल्लेख गर्नुभयो
भयरहित निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये सुरक्षा गोष्ठी पनि एक भएको उहाँले बताउनुभयो ।
सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपश्चात्का कार्यहरुमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरु बनाएको उहाँले जानकारी दिनुभयो । गृहमन्त्री अर्यालले निर्वाचन लोकतन्त्रको असल अभ्यास भएको बताउनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्