प्रेस काउन्सिल र पिएसबी नेपालबीच छलफल

काठमाडौँ – सार्वजनिक सेवा प्रसारण नेपाल र प्रेस काउन्सिल नेपालबीच मूलधारका सञ्चार माध्यमको प्रभावकारिता, विश्वसनीयता र आचार संहिताको कार्यान्वयन सम्बन्धमा  छलफल भएको छ ।

सार्वजनिक सेवा प्रसारण नेपालले विहिबार सिंहदरबारमा आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले सोच र कार्यशैली बदलेर पत्रकारिताको विश्वसनीयता बढ्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।

काउन्सिलका अध्यक्ष डा. आचार्यले पत्रकारिताको विश्वसनीयता बढाउन तथा प्रेस स्वतन्त्रताको संरक्षण गर्न प्रेस काउन्सिल निर्भयताकासाथ लागिरहेको बताउनुभयो ।

संविधानमा उल्लेख भएको नागरिक हकको कुरा गरेजस्तै त्यसमा उल्लेखित नागरिक कर्तव्यका विषयलाई बोध गरेर काम गर्नुपर्नेमा पनि अध्यक्ष आचार्यले जोड दिनुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भएपछि रेडियो नेपाल र नेपाल टेलिभिजन जनता पहिलो भन्ने मूल मन्त्रका साथ अगाडि बढिरहेको बताउनुभयो ।

कार्यकारी अध्यक्ष डा. बिष्टले बजार र सरकारको स्वार्थको दबाबबाट बाहिर निस्केर सार्वजनिक सेवा प्रसारण नेपालले काम गरिरहेको र यसबाट जनताको रुचि र चाहनाका विषयवस्तु सम्प्रेषणमा राम्रो देखिएको बताउनुभयो ।

 

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका प्रमुख प्रशासकीय अधिकृत बिष्णुराम न्यौपानेले परिवर्तित सन्दर्भमा जनताप्रति बढी उत्तरदायित्व निर्वाह गदै रेडियो नेपाल र नेपाल टेलिभिजनले काम गरिरहेको बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य बालकृष्ण अधिकारी र मुख्य अधिकृत झबिन्द्र भुषालले पत्रकारिताको विश्वसनीयता बढाउने गरी सार्वजनिक सेवा प्रसारण नेपालले काम गर्दै आएकोमा त्यसको सराहना गर्दै आगामी दिनमा त्यसलाई थप प्रभावकारी बनाउन प्रेस काउन्सिलको साथ रहने बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल तथा नेपाल टेलिभिजनका समाचार प्रमुखद्धय पवन प्याकुरेल र पुष्पहरि क्याम्पा राई तथा नेपाल पत्रकार महासङ्घ रेडियो नेपाल शाखाका अध्यक्ष भुषण पोखरेल लगायतले प्रेस काउन्सिल नेपालको आचार संहिता अनुसार बिगतदेखि नै रेडियो नेपाल र नेपाल टेलिभिजनले अभ्यास गरिरहेको र आउँदा दिनमा त्यसको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.