पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने, पोखरालाई ताररहित बनाउन महानगरको आग्रह

कास्की- पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६ देखि ११ बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य सुरु हुने भएकाले पोखराको अधिकांश क्षेत्रमा बिजुली काटिने पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।
“कुँडहर सबस्टेशनको एक सय ३२ केभीको बसबार मर्मतका लागि प्राधिकरणले ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार आजदेखि मर्मत कार्य हुँदैछ । यसबाट कुँडहर ग्रीडबाट आपूर्ति हुने सबै फिडरहरू सटडाउन हुनेछन् । हामीले सोहीअनुसार सूचना गरेका छौँ”, कार्यालय प्रमुख यादवले भन्नुभयो ।
पोखरा प्रवेशको विजयपुरबाट यता हरिचोकसम्मको सम्पूर्ण क्षेत्रमा विद्युत् नआउने पोखरा वितरण केन्द्रले जनाएको छ । तोकिएको समभन्दा अगावै मर्मतकार्य सकिएकामा भने केही छिटो बिजुली आउनेसमेत बताइन्छ । सबस्टेशनको बसबार मर्मत सकिएपछि भने नियमित विद्युत् आपूर्ति हुने पोखरा वितरण केन्द्रले जनाएको छ ।
पोखरालाई ताररहित बनाउन आग्रह
पोखरा महानगरपालिकाले पोखराको बजार क्षेत्रलाई ताररहित बनाउने योजनामा सहकार्यका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेको छ । विद्युत् प्राधिकरणले अघि बढाएको पोखराको २३ किमी क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने योजनाअनुसार अधिकांश स्थानमा एकीकृत रूपमा बिजुली, टेलिफोन र इन्टरनेटसमेतलाई भूमिगत गर्ने सम्भावनाका बारेमा महानगरले छलफल अघि बढाएको हो ।
महानगरले इन्टरेनट सेवा प्रदायकहरूसँग छलफल गरी बिजुलीलगायतका पोलहरूमा अव्यवस्थित रूपमा रहेका अनावश्यक तार तत्काल हटाउन पनि आग्रह गरेको छ । नगरप्रमुख धनराज आचार्यले सेवा प्रदायकहरूलाई यथाशक्य छिटो विद्युत् प्राधिकरणसँग समन्वय गरी सेवामा सहकार्य गर्न आग्रह गर्नुभयो ।
“पोखरा बजारक्षेत्रलाई ताररहित बनाउने योजनामा सहयोगका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेका छौँ । यस कार्यका लागि आवश्यक सहयोग गर्न महानगरपालिका तयार छ”, उहाँले भन्नुभयो । प्रमुख आचार्यले एक महिनाभित्रमा तार हटाउन निर्देशन दिइएको र सम्बन्धित कम्पनीले नहटाए महानगरपालिका आफैँले हटाउनेसमेत बताउनुभयो ।
“विद्युत् प्राधिकरणले गरिरहेको तार हटाउने योजनामा इन्टरनेट सेवा प्रदायकहरूलाई समेत सहभागी गराउँछौँ । उहाँहरूलाई एक महिनाको समय दिएका छौँ । एक प्राविधिक समिति बनाएर यसको व्यवस्थापन गर्न निर्देशन दिइएको छ”, प्रमुख आचार्यले भन्नुभयो ।
पोखरामा हाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत तारहरू भूमिगत गर्ने कार्य गरिरहेको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक–रत्नचोक–राष्ट्र बैंकचोक–शहिदचोक–लेकसाइड–हल्लनचोकदेखि बुलौदी हुँदै जिरो किलोमिटरसम्मको क्षेत्रमा अहिले यो कार्य भइरहेको छ ।
पोखराको सहरी सौन्दर्यकरणमा प्रत्यक्ष प्रतिकूल असर पुर्याइरहेका अव्यवस्थित तारहरूको व्यवस्थापन गर्ने यो उपयुक्त अवसर भएकाले प्राधिकरणको योजनामा सामेल भई ताररहित अभियानमा सहयोगका लागि महानगरले आग्रह गरेको हो । महानगर २३ किमी क्षेत्रमा आगामी जुलाईभित्रमा सम्पन्न गर्नेगरी तारहरू भूमिगत गर्ने कार्य भइरहेको छ । यस परियोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको प्राधिकरण पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीले बताउनुभयो ।
पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आवतजावत हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउने कार्य भइरहेको हो । जमिनमुनि तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्याउने काम पनि प्राधिकरण गरिरहेको छ ।
प्राधिकरणले सडकमा न्यून क्षति हुनेगरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको र तार भूमिगत गरेपछि ठाउँठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्याइने आयोजना प्रमुख सुवेदीले बताउनुभयो । विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ ।






प्रतिक्रिया राख्नुहोस्