काँग्रेसमा नियमित महाधिवेशन रोकिएपछि आन्तरिक राजनीति पेचिलो बन्दै
केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौँ- नियमिति महाधिवेशन स्थगितको सूचना जारी गरेसँगै नेपाली काँग्रेसभित्र आन्तरिक राजनीति पेचिलो बन्दै गएको छ।
नियमित महाधिवेशन रोकिएपनि विशेष महाधिवेशन गर्नुपर्ने दावी गर्दै महामन्त्रीद्वयले प्रकृया शुरु गर्ने बताएसँगै पार्टी विभाजनको समेत यतिखेर चर्चा चलेको छ ।
पार्टी भित्रको यही आन्तरिक विवादलाई समाधान गर्न भन्दै नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।
बैठकका लागि नेताहरू केन्द्रीय कार्यालय सानेपा पुग्ने क्रम जारी छ। विशेष महाधिवेशनको प्रतिवेदन लेख्न भन्दै धुलिखेल गएका महामन्त्री गगन थापा पनि आज बिहानै काठमाडौं फर्कनुभएको थियो । उहाँ पनि केन्द्रीय कार्यालय जाँदै हुनुहुन्छ ।
कांग्रेसमा नियमित महाधिवेशनको कार्यक्रम अगाडि नबढेपछि दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रक्रिया अघि बढाएका थिए । आजै विशेष महाधिवेशन पक्षधर केही नेताहरुले पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन वैधानिक वाध्यता भएको दावी गरेका थिए ।
तर सभापति देउवा पक्ष भने आमचुनाव मुखमा आएका बेला विशेष महाधिवेशन गर्न नहुने पक्षमा छ। विशेष महाधिवेशन अघि बढ्ने पार्टी फुट्ने भनेर संस्थापन पक्ष नेताहरूले बताइरहेका छन्।
विशेष महाधिवेशन अघि बढाइएको विषयमा छलफल गर्नका लागि शुक्रबार कार्यसम्पादन समिति बैठक बोलाइएको हो।
बैठक अघि आजै सभापति शेरबहादुर देउवाले आफू निकट केही नेताहरुसँग छलफल गर्नुभएको थियो । त्यसो त नेपाली काँग्रेसका केही केन्द्रीय समितिका सदस्यहरुले संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरसँग भेटेर पार्टी विभाजन हुनसक्ने भन्दै ध्यानाकर्ण गराएका थिए ।
यसका सभापति र महामन्त्री दुबै पक्षले पार्टी नफुट्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।।






प्रतिक्रिया राख्नुहोस्