चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गर्न जमिन खरिद

म्याग्दी- अन्नपूर्ण गाउँपालिका६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको छ । समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको तीन रोपनी छ आना जग्गामा खेलमैदानको पूर्वाधार निर्माण थालिएको हो ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाख रुपैयाँ बजेटबाट खेलमैदानको डिलतर्फ पर्खाल निर्माण र जग्गा सम्याउने काम गरिएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।

“खेलमैदान अभावमा युवायुवतीलाई खेलअभ्यास गर्न समस्या भएपछि घार युवा क्लबले गत वर्ष २८ लाख रुपैयाँमा जग्गा खरिद गरेको थियो”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको बजेटको काम सकिएको छ । प्रदेश सरकारले विनियोजन गरेको पाँच लाख रुपैयाँ बजेटबाट थप संरचना निर्माण गर्न बाँकी छ ।”

क्लबले खरिद गरेको जग्गाको नजिकै रहेको थप दुई रोपनी सार्वजनिक जमिनमा रहेको ढुङ्गालाई पनि पन्छाएर खेलमैदान बनाउने योजना छ । ठूला ढुङ्गा फुटाउनका लागि मध्य कालीगण्डकी जलविद्युत् आयोजनासँग सहयोग मागिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

पैतालीस मिटर चौडाइ र ७० मिटर लम्बाइमा फुटबल, भलिबल, बास्केटबल खेल सञ्चालन गर्न सकिने प्यारापिट र स्टेजको संरचनासहितको खेलमैदान निर्माण गर्न एक करोड १९ लाख रुपैयाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ ।

आगामी वर्षमा पनि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमा पहल गरेर थप बजेट व्यवस्थापन गरी खेलमैदान निर्माणलाई पूर्णता दिने वडाध्यक्ष खड्काले बताउनुभयो । खेलमैदान निर्माण गर्न विभिन्न सङ्घसंस्था र चन्दा सङकलन गरेर २८ लाख ४२ हजार रुपैयाँमा गत वर्ष घार युवा क्लबले जग्गा खरिद गरेको थियो ।

घारखोला जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत उपलब्ध गराएको १३ लाख ५० हजार, चन्दामार्फत पाँच लाख ५५ हजार रुपैयाँ परिचालन गरिएको खेलमैदान खरिदका लागि हाल जापानमा रहनुभएका घारका ददीवल खड्काले व्यक्तिगत रूपमा पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

घार कोटमन्दिरबाट एक लाख ६५ हजार, शिवकुमार बरुवालले ५० हजार, कमल बरुवालले ५५ हजार, अन्नपूर्ण वन संरक्षण उपसमितिले एक लाख १० हजार रुपैयाँ सहयोग गरेका र ७० हजार रुपैयाँ ऋण रहेको घार युवा क्लबका अध्यक्ष सागर खड्काले बताउनुभयो । घारका बल्लिका बरुवालबाट २१ लाख रुपैयाँमा दुई रोपनी १३ आना तीन दाम र भुपाल कार्कीबाट १० आना तीन पैसा क्षेत्रफलको जग्गा सात लाख रुपैयाँमा खरिद गरिएको खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.