विशेष महाधिवेशन व्यक्तिले होइन, केन्द्रीय समितिले मात्र बोलाउन सक्छ: नेपाली काँग्रेस

काठमाडौँ- नेपाली काँग्रेसले पार्टीको विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नभई पार्टीको केन्द्रीय समितिलाई मात्र हुने प्रष्ट पारेको छ ।
काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तीमा पार्टीको केन्द्रीय कार्यसमितिको सर्वसम्मत् निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशन-महाधिवेशनको प्रकृया र कार्यक्रमहरु संचालन भैरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको उल्लेख छ।
यो विषयलाई वेवास्ता गरी विभिन्न संचार माध्यममार्फत् पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै काँग्रेसले कुनैपनि पदाधिकारीहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा अन्य भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुलाई सो विशेष महाधिवेशनमा सहभागी नहुन पनि निर्देशन दिएको छ ।
तर काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशन बैधानिक रुपमा बाध्यकारी व्यवस्था भएको भन्दै सहभागीताका लागि आव्हान गरिसक्नुभएको छ ।
त्यसो त आजै विशेष महाधिवेशन पक्षधर केही नेताहरुले पत्रकार सम्मेलन गरी महाधिवेशन व्यवस्थापन उपसमितिहरु गठन गरेको घोषणा गर्नुभएको छ।
विशेष महाधिवेशनको विषय यतिखेर काँग्रेसमा निकै पेचिलो बन्दै गएको र पार्टी विभाजनसम्मको चिन्ता काँग्रेसका नेता तथा कार्यकर्ताहरुमा देखिएको छ ।।





प्रतिक्रिया राख्नुहोस्