१८ सदस्यका लागि ४४ जनाको उम्मेदवारी, काँग्रेसका सुनिल थापा निर्विरोध

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवारहरुको मनोनयन दर्ता गर्ने काम सम्पन्न भएको छ ।
१८ जना राष्ट्रिय सभा सदस्यका लागि ४४ जनाको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
मनोनयनको क्रममा कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध हुनुभएको छ । कोशीको खुला कोटामा अरु कसैको पनि उमेदवारी नपरेपछि थापा निर्विरोध हुनुभएको हो ।
थापाले केही दिन अघि मात्र राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिनुभएको थियो ।
कोशीमा कांग्रेस-एमाले गठबन्धनबाट एमालेका सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेले मनोनयन दर्ता गराएका छन भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का खेमराज सुन्दास र नमिता न्यौपानेले पनि उम्मेदवारी मनोनयन गरेका छन ।
उता मधेश प्रदेशमा ४ सीटका ११ जना उम्मेदवारको मनोनयन परेको छ।
कांग्रेस–एमाले गठबन्धनबाट लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराउनु भएको छ । जसपा नेपालबाट शैलेश चौधरी, चन्द्रकला देवी साह र चमेली देवी दासले उम्मेदवारी गराएका हुन् ।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट शम्भु पासवान, रामनन्दन प्रसाद, लक्ष्मण पौडेल र समी कुमारी अग्रवालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यस्तै कांग्रेस–एमाले गठबन्धनबाट दलित कोटामा कांग्रेसका धर्मेन्द्र पासवान, अल्पसंख्यक कोटामा कांग्रेसका रञ्जित कर्ण र महिला कोटामा एमालेकी रेखा झाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यता बागमती प्रदेशमा दुई सिटका लागि ६ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
तीमध्ये एक जना महिला र एक जना अन्य समूहबाट निर्वाचित हुनेछन् ।
नेमकिपाबाट कविता महर्जन र विक्रम ढुकुछेँले उम्मेदवारी दर्ता गराउनुभएको छ भने एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट एमालेका प्रेमप्रसाद दंगालले उम्मेदवारी दिनुभएको छ । यसैगरी नेपाली कांग्रेसबाट गीता देवकोटाले मनोनयन दर्ता गराउनुभएको छ । नेकपाका प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झाले पनि उम्मेदवारी दिनु भएको छ ।
यसैगरी, गण्डकी प्रदेशमा दुई सिटका लागि ६ जनाले मनोनयनपत्र दर्ता गरेका छन् ।
एक जना महिला र अर्को अन्य समूहका लागि मनोनयन दर्ता गरिएको हो ।
महिलातर्फ नेकपा एमालेकी सम्झना देवकोटाको उम्मेदवारी परेको छ भने अन्यबाट नेपाली कांग्रेसका जगत तिमल्सिनाको उम्मेदवारी परेको छ ।
नेकपाको तर्फबाट कपिल लामा र गोमा घिमिरे लुइँटेलको उम्मेदवारी परेको छ भने राष्ट्रिय जनमोर्चाका तर्फबाट लक्ष्मी बास्कोटा, र शङ्कर बरालको उम्मेदवारी परेको छ ।
यस्तै, ३ सदस्य निर्वाचित हुने लुम्बिनी प्रदेशमा ८ जनाको उम्मेद्धारी दर्ता भएको छ ।
लुम्बिनीमा काँग्रेस-एमाले गठबन्धनबाट अन्यतर्फ गुल्मीका चन्द्रवहादुर केसी, महिलातर्फ गुल्मीकी रामकुमारी झाँक्री र अपांगतर्फ दाङका बासुदेव घिमिरे जंगलीले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
यस्तै नेकपाको तर्फबाट अन्य कोटामा पश्चिम नवलपरासिका बृहष्पति अधिकारी, महिला कोटामा पाल्पाकी दुर्गा भण्डारी र अपागं कोटामा बाँकेका सर्जन बिकले उम्मेदवारी दिनु भएको छ ।
यसैगरी राष्ट्रिय जनमोर्चाका तर्फबाट महिला कोटामा पद्यमा पण्डित र अन्यमा बोमबहादुर खत्रीलले उम्मेदवारी दिनु भएको छ ।
उता कर्णालीबाट नेकपा एमालेबाट मिनासिंह रखाल र नेपाली काँग्रेसबाट जुम्लाका ललितजंग शाहीले उमेदवारी दर्ता गराएका छन् । कर्णालीबाट नेपाली कम्युनिस्ट पार्टीले महिलातर्फ अञ्जु महतरा र अन्यतर्फ बुद्धिप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।
साथै, सुदुरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट खम्ब बहादुर खातीले उम्मेदवारी दर्ता गर्नुभएको छ भने नेकपा एमालेको तर्फबाट लिला भण्डारी उम्मेदवार बन्नुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट महिलातर्फ रोजी बस्नेत सुनार र पुरुषतर्फ टिकाराम जैशीले उम्मेदवारी दर्ता गरेका छन् ।
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।।





प्रतिक्रिया राख्नुहोस्