काठमाडौंको शंकरापुर बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौँको शङ्करापुर नगरपालिका–३ स्थित साँखु-जहरसिंहपौवा सडक खण्डको जङ्गलमा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले पाँच जनाको मृत्यु पुष्टि भएको र अन्य २३ जना घाइते भएका जानकारी दिनुभयो । मृतक सबैको सनाखत भइसकेको छ । मृत्यु हुनेहरुमा नेपालगञ्ज घर भई हाल बुढानिलण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भई हाल बुढानिलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, पाँचथर घर हाल गोठा टार बस्ने अन्दाजी ६५ वर्षीय देबेन्द्र लिम्बु, सिराह घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीय शान्ती गुप्ता र काठमाडौं जोरपाटीका ५५\६० वर्षीय अर्जुन लामिछानेको उपचारका क्रममा मृत्यु भएको हो । वनभोज खाएर फर्किएको बस दुर्घटनामा हुँदा उनीहरूको मृत्यु भएको उहाँले बताउनुभयो । साँझ ६ बजेतिर सो बस दुर्घटना भएको थियो । घाइतेहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको नेपाल मेडिकल कलेज, शङ्करापुर अस्पताल, मूलपानी नगर अस्पताल र सुष्मा कोइराला अस्पतालमा उपचार भइरहेको छ । बसमा ४० जना जति सवार रहेका जनाइएको छ । ‘नेचर हर्व’ संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्